जिल्ला अदालत बाँकेमा पारिवारिक इजलास सुरु हुँदै
  • काँचुली खबर

६ साउन, नेपालगन्ज । जिल्ला अदालत बाँकेमा पारिवारिक इजलासको सुरु गरिने भएको छ । पारिवारिक विवादसम्बन्धी मुद्दाको सुनुवाइ छिटोछरितो बनाउने उद्देश्यले यही साउन १६ गतेदेखि पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गरिएको हो ।

महिलावादी भएका अंश मुद्दा, नाता कायम, घरेलु हिंसा, बालबालिकाको सरोकार रहेका देवानी मुद्दा हेर्ने गरी छुट्टै इजलास सुरु गर्न लागिएको बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईँले जानकारी दिए । यही साउन १६ गतेदेखि छुट्टै इजलासबाट उक्त मुद्दाको सुनुवाइ गरिने जनाउँदै न्यायाधीश प्रसाईँले सोका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार काठमाडौँ, मोरङ, कास्की, बाँके, धनुषा र रुपन्देही जिल्ला अदालतमा यस्तो इजलास सुरु भइसकेको छ ।

पुराना मुद्दाको फैसला प्राथमिकतामा

जिल्ला अदालतले सेवाग्राहीलाई छिटो र सहज मुद्दा फछ्र्यौट गर्न सुरु गरेको पारिवारिक अदालतको तयारीलाई दु्रत गतिमा अघि बढाइएको छ । योसँगै अदालतले पुराना मुद्दालाई फछ्र्यौट गरी शून्यमा झार्ने गरी कार्यसम्पादन गरिरहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म दुई वर्ष नाघेका ७४ मुद्दा मात्रै फछ्र्यौट गर्न बाँकी रहेको अदालतका न्यायाधीश प्रसाईले बताए । उनका अनुसार चालु आवमा जिम्मेवारी सरेर आएका तीन हजार चार सय ३२ मध्ये दुई वर्ष वा सोभन्दा बढीका आठ सय ७० मुद्दा मात्रै फछ्र्यौट गर्न बाँकी छन् ।

अदातलको वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला न्यायाधीश प्रसाईले न्याय सम्पादनका लागि सर्वोच्च अदालतको नीतिअनुसार मुद्दाको वर्गीकरण गरी न्याय सम्पादनको कार्य अघि बढाइएको जानकारी दिए । उनका अनुसार मुद्दालाई तीन वर्गमा विभाजन गरेर सुनुवाइ भइरहेको छ । सरल, सामान्य, र विशेष गरी तीन किसिममा मुद्दाको वर्गीकरण गरी सुनुवाइ भइरहेको उहाँले बताए । उनले भने, “डिसिएम (फरक मुद्दाको व्यवस्थापन पद्धति) पछि मुद्दाको सुनुवाइ सहज भएको छ ।”

चालु आवमा सरल एक हजार दुई सय ५५, सामान्य एक हजार सात सय ५३, विशेष चार सय २४ मुद्दाको जिम्मेवारी सरेर आएको अदालतको तथ्याङ्क उल्लेख गरिएको छ । रासस

  • ६ श्रावण २०८१, आईतवार १६:१४ प्रकाशित
  • Nabintech