२१ असार, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले शुक्रबारदेखि वृक्षारोपण अभियान सुरु गरेको छ । कोहलपुरको नयाँ बसपार्क परिसरमा वृक्षारोपण गरेर यो वर्षको अभियान थालिएको हो ।
नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र निवर्तमान नगर प्रमुख लुटबहादुर रावतले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रमको सुभारम्भ गरेको नगर प्रहरी प्रमुख वीर बहादुर थापाले जानकारी दिए । उनीहरुले स्वामीको विरुवा रोपेर अभियानको सुरुवात गरेका हुन् ।
चालू आर्थिक वर्ष २०८०-०८१ मा कोहलपुर क्षेत्रभित्र करिव १० हजार विरुवा रोप्ने उद्देश्यका साथ यो वर्षको अभियान सुरु गरिएको नगर प्रमुख आचार्यले जानकारी दिए । नगरक्षेत्रमै मात्र विभिन्न प्रजातिका पाँच हजार विरुवा रोप्ने योजना छ भने नगर बाहिरका विभिन्न वडाहरुमा थप पाँच हजार विरुवा रोप्ने योजना छ ।
कोहलपुर नगरपालिकालाई हरित नगरको रुपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले नीतिगत रुपमै वृक्षारोपण कार्यक्रमलाई प्राथमिकता दिएको छ । कोहलपुर क्षेत्रमा बढ्तो तापमानलाई कम गर्नका लागि पनि वृक्षारोपण आवश्यक रहेको नगर प्रमुख आचार्यले बताए ।
‘कोहलपुर नगरपालिकालाई हरित नगर बनाउँदै यसको सौन्दर्यता बढाउने कुरा त भइ नै हाल्यो तर पछिल्लो समय बढ्दो तापमानलाई समेत न्यूनीकरण गर्नका लागि पनि वृक्षारोपण अपरिहार्य आवश्यकता बन्यो नगर प्रमुख आचार्यले भने, ‘बसपार्क क्षेत्रमा यसको आवश्यकता झनै देखियो । वरपर सबै कंक्रिट छ । कम्तिमा बोटविरुवा रोपियो भने शितलता प्रदान गर्नमा सघाउ पुर्याउने छ ।’
बसपार्क क्षेत्रमा मात्रै १६० बढी विभिन्न प्रजातिका विरुवा रोपिएको नगर प्रहरी प्रमुख थापाले बताए । स्वामी तीन वटा, कोनोकार्पस ५० वटा, छतिवन ४०, कल्की २०, कपुर ३०, निम १०, पारिजात २० र धुपीका १० वटा विरुवा रोपिएको नगर प्रहरी प्रमुख थापाले बताए ।
२१ असार २०८१, शुक्रबार १६:०४ प्रकाशित