पर्खालले च्यापिएर कोहलपुरमा एक महिलाको मृत्यु
  • काँचुली खबर

६ असार, कोहलपुर । बाँकेमा गएराति आएको हुरीबतासले पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर-१४, गितापुरकी मीना खातुन रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरको हवल्दारपुरमा हुरीबतासले पर्खाल भत्किँदा खातुनलाई च्यापेको थियो ।

त्यस्तै विद्युत्‌को पोलमा क्षति पुर्‍याउँदा बाँकेका केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ ।

जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए ।

लामिछानेले राप्तीसोनारीको जंगलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत् आपूर्ति सहज गराउन समय लाग्ने बताए । उनका अनुसार कोहलपुरमा ९, डुडुवामा ९, खजुरामा ८ र राप्तीसोनारीमा ५ गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन् । ‘अझै कहाँ-कहाँ कति ढलेका छन्, विस्तृत विवरण आएको छैन’, उनले भने ।

हुरीबतासका कारण जिल्लाको डुडुवा गाउँपालिका वडा नं. १ खडैचामा आगलागी हुँदा ३४ खरले छाएका घर जलेका छन् । घरमा रहेका अन्नपात समेत जलेको प्रहरीले जनाएको छ ।

  • ६ असार २०८१, बिहीबार १२:४८ प्रकाशित
  • Nabintech