नेपालगञ्जबाट काठमाडौं हिडेको बस त्रिशूलीमा खस्यो
  • काँचुली खबर

३२ जेठ, काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको यात्रुबाहक बस त्रिशुली नदी किनारमा खसेको छ । दुर्घटनामा कम्तिमा १२ जना घाइते भएका छन् । केही यात्रु गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार भे १ ख ४०६२ नम्बर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१-०२९ च ३७२० नम्बरको कार आज बिहान साढे ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै ठोक्किएका थिए ।

बस त्रिशुली नदी किनारमा खसे पनि कार भने सडक किनारमै छ । कारमा सवार २ जनाको अवस्था गम्भीर छ । टाउकोमा गम्भीर चोट लागेका कार चालक पोखरा महानगरपालिका ५ का ३५ वर्षीय समिर ओझा र टाउकोमा नै चोट लागेका सोही कारमा सवार काठमाडौंको टोखा नगरपालिका ६ टोखाका २२ वर्षीय शेखर मिश्रको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।

बस चालक कोहलपुर-१२, बाँकेका ३५ वर्षीय विकास मल्ल प्रहरी नियन्त्रणमा छन् ।

अन्य केही यात्रुहरु पनि घाइते भएका र उनीहरुलाई विभन्न अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी विपद व्यवस्थापनको टोली र इलाका प्रहरी कार्यालय मुग्लिनको टोली उद्धारमा खटिएका छन् ।

दुर्घटनाग्रस्त कार सडक किनारमै रहेको र त्रिशूली किनारमा खसेको बसलाई तान्ने काम भइरहेकाले दुर्घटनास्थलमा ट्राफिक जाम भएको छ ।

  • ३२ जेष्ठ २०८१, शुक्रबार ११:५६ प्रकाशित
  • Nabintech