कोहलपुर-सुर्खेत प्रसारण लाइनकाे अवधि नौ महिना थप
  • काँचुली खबर

२९ जेठ, रासस ।  कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताए । रु. ७० करोडमा ठेक्का पाएकोे भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले २०७७ असारदेखि काम सुरुआत गरेको थियो ।

आयोजना निर्माणका लागि छ हजार रुख कटानका लागि टाँचा लगाइएको आयोजना प्रमुख चौधरीले बताए । बाँके र बर्दिया जिल्लामा पर्ने राष्ट्रिय निकुञ्जमा विद्युत् विस्तार गर्नुपर्ने  भएकाले रुख कटान हुने प्रमुख चौधरीले बताए ।

विसं २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख कटान निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट निर्णय भए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति आउन समय लागेका कारण काम अघि बढ्न नसकेको उनले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयानुसार रूखमा छपान कार्य भने सकिएको छ । सुर्खेतको वीरेन्द्रनगर-११ सुब्बाकुना र बाँकेको बैजनाथमा प्रसारण लाइन निर्माण हुने क्षेत्रमा अझै विवाद हल हुनसकेको छैन । विवाद समाधानका लागि विभिन्न चरणमा सरोकारवालासँग छलफल गरिएको भए पनि अझै निकास आउन सकेको छैन । विद्युत् लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध गरेर विकल्प समेत मागेका हुन् ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभार हुँदै लाइन विस्तार हुने उल्लेख छ । प्रसारण लाइन निर्माण गर्दा स्थानीयवासीलाई उचित मुआब्जा दिएर विवाद समाधान गर्न पहल भइरहेको आयोजनाको दाबी छ । पटकपटक म्याद थप्दा पनि विवाद समाधान तथा निर्माणकार्यले गति नलिँदा कर्णालीमा विद्युतको समस्या जहाँको तहीँ छ ।

हालसम्म विद्युत् प्रसारण लाइन विस्तारको ७० प्रतिशत प्रगति हासिल भएको छ । एक सय पाँचवटा फाउण्डेसन निर्माण गरिएको छ भने दशवटा फाउण्डेसन बनिरहेका छन् । हालसम्म २५ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सबस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

  • २९ जेष्ठ २०८१, मंगलवार ०८:५४ प्रकाशित
  • Nabintech