२८ जेठ, काठमाडौं । यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज मनसुन भित्रिएको जानकारी दिएको हो ।
हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनभित्रै क्रमिक रुपमा फैलिँदै जाने छ ।
नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ-इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ । यद्यपि कहिलेकाहीँ सरदर मितिभन्दा ढिलो-चाँडो पनि हुने गर्दछ ।
यस वर्षको मनसुन अवधिमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ । बढी वर्षा हुँदा बाढी पहिरोको जोखिम पनि बढी हुने भएकाले पूर्व सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीले आज कोशी प्रदेशमा मनसुन भित्रिए पनि नेपालको सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्ने बताए ।
कोशी प्रदेशका जिल्लाहरुमा केही दिनयता दिनहुँ वर्षा हुँदै आएको थियो । तर काठमाडौं उपत्यकासहित पश्चिम तराईका भूभागमा नियमित पानी नपर्दा अत्यधिक गर्मी छ । महाशाखाले जेठ २६ गते विशेष बुलेटिन जारी गर्दै जेठ २८ गतेसम्म तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन भनेको थियो ।
यस्तो अवस्था अझै केही दिन जारी रहने सम्भावना रहेको मौसमविद अधिकारीले बताए । ‘रोचक त के छ भने पूर्वी नेपालमा मनसुन भित्रिँदा पश्चिमतिर तातो हावाको लहर छ,’ अधिकारीले भने, ‘अझै केही दिनसम्म पश्चिमतिर गर्मी नै हुने सम्भावना छ ।’
२८ जेष्ठ २०८१, सोमबार १४:११ प्रकाशित