दलित पत्रकार संघ बाँकेको अध्यक्षमा कविन्द्र परियार चयन
  • काँचुली खबर

१२ जेठ, कोहलपुर । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, बाँके शाखाको दोस्रो साधारण सभा तथा विशेष अधिवेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच संघको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमार्फत जिल्ला समिति चयन गरिएको छ ।

कविन्द्र परियारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो । संघको उपाध्यक्षमा आशा परियार, सचिवमा शान्ति सुनार, सह सचिवमा सिम्रन विश्वकर्मा (चाइनिज) र कोषाध्यक्षमा रामगोपाल विश्वकर्मा सर्वसहमतिमा चयन भएका छन् । यस्तै सदस्यहरुमा प्रमिला विश्वकर्मा, जनता रैका, उमेश दलामी र प्रेम बैगार रहेका छन् ।

यस्तै अधिवेशनमार्फत केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि र सल्लाहकार समिति समेत चयन गरिएको छ । बन्द सत्रबाट केन्द्रिय प्रतिनिधिमा कुशल दलामी र हेमन्त विक चयन भएका छन् । यस्तै प्रदेश प्रतिनिधिहरुमा विद्युत्मा रैका, रुप गहतराज, अनिता विश्वकर्मा र शुभाकर विश्वकर्मा चयन भएका छन् । यस्तै सल्लाहकारहरुमा शिव सुनार, पुजन विश्वकर्मा, रुपा गहतराज, गणेश विशु र हेमन्त विक चयन गरिएको संघकी सचिव शान्ति सुनारले जानकारी दिइन् ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियारले संघ नेपालका ६० लाख दलित समुदायको आवाज रहेको बताए । उनले संघमा आवद्ध पत्रकारहरुमार्फत दलित समुदायका दबिएका आवाज बुलन्द गर्न आवश्यक रहेको जिकिर गरे ।

यस्तै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले अहिलेपनि समाजको मूल प्रवाहमा आउन नसकेको समुदायहरुलाई समाचारका माध्यमबाट जागरुक बनाउनुपर्ने बताए । उनले कोहलपुर नगरपालिकाले सिमान्तकृत समुदायलाई प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा संघसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उद्घाटन सत्रमा शुभकामना दिने सम्पूर्ण वक्ताहरुले दलित पत्रकार संघलाई शसक्त संगठनका रुपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

अधिवेशनको अवसरमा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलाई सम्मान गरिएको थियो ।

  • १२ जेष्ठ २०८१, शनिबार १७:४५ प्रकाशित
  • Nabintech