३ जेठ, काठमाण्डौं । गुणस्तरबारे प्रश्न उठेपछि नेपालमा पनि केही भारतीय ब्र्यान्डद्वारा उत्पादित प्याकेटबन्द मसलामा तत्काल रोक लगाउन पत्राचार गरिएको अधिकारीहरूले बताएका छन्।
भारतका दुई चर्चित मसला कम्पनीहरूमाथि केही देशले प्रतिबन्ध र केहीले निगरानी गर्न थालेपछि नेपालले पनि ती कम्पनीका चार प्रकारका मसलाको आयातमा तत्कालका लागि रोक लगाउने निर्णय गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतका एमडीएच र एभरेस्ट ब्र्यान्डकका साम्बर मसला, करी पाउडर र फिश करी मसलाको आयातमा तत्काल रोक लगाउन सम्बद्ध सरकारी निकायहरूलाई पत्राचार गरिएको जनाएको छ।
“ती मसलाको आयात अनुमति जारी नगर्ने भनेर पत्राचार भइसकेको छ,” विभागकी महानिर्देशक मतिना जोशी वैद्यले भनिन्।
विभागका अधिकारीहरूका अनुसार नेपालले आयात अनुमति रोक्न पत्राचार गरेका मसलाहरूमा एमडीएचबाट उत्पादित तीन प्रकारका मसला र एभरेस्टबाट उत्पादित एउटा मसला छन्।
डोसा र इडलीसँगै खाइने दाल र तरकारीको परिकार बनाउन प्रयोग हुने एमडीएचको साम्बर मसला, तरकारीमा प्रयोग हुने मद्रास करी पाउडर र करी पाउडर मिक्स मसला छन्।
त्यस्तै एभरेस्टबाट उत्पादित माछाको परिकारमा प्रयोग गरिने फिश करीको आयातमा रोक लगाउन पत्राचार गरिएको अधिकारीहरूले बताए।
नेपालमा भने ती मसलाहरूमा प्रतिबन्ध नभई तत्कालका लागि आयातमा रोक मात्रै लगाइएको अधिकारीहरूले बताएका छन्।
विभागले अन्य देशले निगरानीमा राखेका मसलायुक्त अन्य उत्पादनहरूको पनि गुणस्तर परीक्षण भइरहेको जनाएको छ।
परीक्षणमा हानिकारक पदार्थ भेटिए अन्य मसलाहरूमा पनि प्रतिबन्ध लगाउनेबारे छलफल हुन सक्ने अधिकारीहरूले बताएका छन्।
अब हुने आयातमा रोक लगाउने निर्णय गरेको पनि अहिले बजारमा भएका मसलाबारे भने विभागले केही भनिसकेको छैन।
आयातमा रोक लगाइनुको कारण
गत महिना सिङ्गापुर र हङ्कङले भारतीय कम्पनीहरू ‘एमडीएच’ र ‘एभरेस्ट’ का मसलामा ‘एथलीन अक्साइड’ नामक क्यान्सर गराउन सक्ने रासायनिक पदार्थ ठूलो मात्रामा पाइएको भन्दै आफ्नो देशमा बिक्रीमा रोक लगाएपछि कैयौँ देशमा ती ब्रान्डका मसलाहरूको गुणस्तर परीक्षण भइरहेको छ।
माल्दिभ्स, बाङ्ग्लादेश र अस्ट्रेलियाका खाद्यपदार्थ नियमन गर्ने निकायहरूले पनि भारतीय मसलामाथि अनुसन्धान गरिरहेको विवरण सार्वजनिक भएका छन्।
भारतीय मसलाको ठूलो बजार चीन, अमेरिका र बाङ्ग्लादेशजस्ता देश भए पनि खानेकुराको संस्कृति र खुला सीमाका कारण नेपालमा पनि ठूलो मात्रामा भारतीय मसला आयात हुने गरेको छ।
भन्सार विभागको चैत्र महिनासम्मको तथ्याङ्कअनुसार गत वर्षको नौ महिनामा चिया, कफीसँगै भारतबाट दुई अर्ब रुपैयाँको मसला आयात भएको छ।
नेपालका अधिकारीहरूले ‘एथलीन अक्साइड’ को प्रयोगबारे संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ सङ्गठन र खाद्य तथा कृषि सङ्गठनले गठन गरेको ‘कोडेक्स एलिमेन्टारिअस कमिशन’ले बनाएको मापदण्डका आधारमा यस्तो रोक लगाइएको जनाएका छन्। सदस्यराष्ट्र भएकाले नेपालले पनि उक्त संस्थाले बनाएको मापदण्ड पालना गर्दै आएको छ।
यद्यपि ती मसलामा कुत तत्त्वको मिसावट कति मात्रामा भेटिएको थियो भन्ने विस्तृत जानकारी विभागले सार्वजनिक गरेको छैन।
३ जेष्ठ २०८१, बिहीबार १७:५१ प्रकाशित