२ जेठ, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । न्यायाधीशद्वयले यो मुद्दामा हिजो बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन । बहस नसिकएपछि हेर्दाहेर्दै आजका लागि पेशी राखिएको हो।
हिजो सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए। उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,कृष्ण सापकोटा, मुरारी सापकोटा, सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए। बहसका क्रममा उनीहरुले लामिछाने निर्दोष भएको दाबी गरेका थिए ।
लामिछाने पक्षको बहसपछि सरकारको तर्फबाट महर्जन र घिमिरेले जवाफ दिएका थिए । त्यसपछि गौसला २६ का तर्फबाट बहस सुरु भएको थियो । आज उनीहरुकै बहसबाट सुनुवाइ सुरु हुनेछ ।
त्यसपछि लामिछानेको तर्फबाट जवाफ दिइनेछ । उक्त जवाफ आएपछि न्यायाधीशद्वयले फैसला सुनाउनेछन् ।
यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए ।
२ जेष्ठ २०८१, बुधबार ०७:२४ प्रकाशित