३० बैशाख, काठमाडौं । गौशाला २६ लाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको कानूनी टोलीमा वरिष्ठ अधिवक्ता राम नारायण विडारी जोडिएका छन् ।
काठमाडौंको फैसलाविरुद्ध लामिछानेले पुनरावलोकनका लागि उच्च अदालतमा दायर गरेको रिट आगामी १ गतेलाई पेशी तोकिएको छ । उच्च अदालतले समेत अग्राधिकार प्रदान गरेको उक्त मुद्दामा उनको पक्षमा बहस गर्न बिडारी पनि थपिएका हुन् ।
सन्दीपको पक्षमा वकालत गर्न आधा दर्जन जति कानून व्यवसायीको टीम छ । जसमा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, वरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत छन् ।
यो टोलीलाई अधिवक्ता सरोज घिमिरेले संयोजन गरिरहेका छन् । देवानी तथा फौजदारी कानूनका विज्ञ विडारी पनि थपिएपछि सन्दीपको कानूनी टीम बलियो बनेको छ ।
एक दशकपछि टी-२० विश्वकपमा सहभागीता जनाउँदै गर्दा सन्दीपले उच्च अदालतमा सुनुवाइ कुरेर बसेका छन् । उनले अभियोगबाट सफाइ पाए विश्वकपमा सहभागी हुने झिनो सम्भावना कायमै छ ।
३० बैशाख २०८१, आईतवार १९:३२ प्रकाशित