बच्चा कोरल्न बाँके र बर्दिया आउँछन म्यानमारदेखि अस्ट्रेलियासम्मका चरा
  • काँचुली खबर

८ बैशाख, कोहलपुर । बर्दिया निकुञ्जमा कुक्कु कोइली श्वेतवक्ष जुरेलीको गुँड पछ्याइरहेको छ । ग्रीष्म आगन्तुक चरा कुक्कुले आफू ओथारो नबसेर अरूको गुँडमा अन्डा पारेर बचेरा हुर्काउँछ । कुक्कुजस्तै काफल पाक्यो चराले पनि निकुञ्जकै बघौरामा चिबेको गुँड पछ्याइरहेको छ । यो चरा पनि आफू ओथारो नबसेर अरू चराकै गुँडमा अन्डा पारेर बचेरा हुर्काउँछ । दुवै चराका भालेले जुरेली र चिबेलाई जिस्काउँदै परपर लखेट्दै बसेका छन् । त्यही मौका छोपेर पोथी भने त्यही गुँडमा अन्डा पार्ने ताकमा देखिन्छन् ।

यसरी आफू ओथारो नबस्ने कोइलीका १३ प्रजातिका ग्रीष्म आगन्तुक चरा अहिले अरू चराका गुँडको चियोचर्चो गर्नमा व्यस्त छन् । अन्य चराले गुँड राम्ररी बनाएपछि कोइली प्रजातिका पोथी गएर गुँडमा चलाखीपूर्वक अन्डा पारेर छोड्छन् । कोइली प्रजातिका जस्तै अन्य ग्रीष्म आगन्तुक चरा अहिले बचेरा हुर्काउन नेपाल आएका हुन् । मार्चको सुरुवातमै नीलपुच्छ्रे र कटुसटाउके मुरली चरा चितवन आएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । धरान हुँदै चितवन राष्ट्रिय निकुञ्ज पुगेर गुँड लगाउने ठाउँ खोजिरहेका छन् । स्वर्गचरी पनि पूर्वी नवलपरासीको कावासोतीस्थित सामुदायिक वनमा आइपुगेको उनले बताए । उनीहरू वन बुट्यान पछ्याउँदै नेपाल भित्रिएका हुन् । ‘गुँड बनाउन ठाउँ हेरिसके,’ चराविद् डीबी चौधरीले भने, ‘झारपात र झिजाझिजी ओसार्न उनीहरूलाई अहिले भ्याइनभ्याइ छ ।’

अहिलेसम्म ५२ भन्दा बढी प्रजातिका चरा नेपाल आइसकेका चराविद्हरू बताउँछन् । ग्रीष्मकालीन पाहुना चरा यता आएर पहिले गुँड लगाउने ठाउँ खोज्छन् । सुरक्षा, खानपान र राम्रो वातावरण भएको ठाउँ रोज्छन् । चराले रूख, नदी, खोलाका किनार, अग्लो आली, टोड्का र खेतबारीमा गुँड लगाउँछन् । वसन्त ऋतु लागेपछि भारत, श्रीलंका, दक्षिण-पूर्वी एसियाका थाइल्यान्ड, म्यानमार, लाओस, मलेसिया र इन्डोनेसियादेखि चरा यहाँ आइपुग्छन् । उनीहरू ४-५ दिनदेखि बढीमा १० दिन लगाएर नेपाल आउँछन् । बच्चा हुर्काएर उनीहरू फेरि फर्कन्छन्

अहिले राजचरी, सुन्तले चाँचर, गाजले सुनचरी, ठेउवा र लालचुच्चे ठेउवा लगायतका चरा आइसकेका छन् । कोइलीका आगन्तुक १३ प्रजातिमध्ये अफ्रिकाको सबसाहरन क्षेत्रबाट आउने जुरे कोइली अझै आइसकेको छैन । यो सबैभन्दा ढिलो आउने चरा हो । ‘यस वर्ष मनसुन ढिलो छ । त्यही भएर यो चरा अझै ढिलो आउन सक्छ,’ चराविद् डा. बरालले बताए । मध्यअफ्रिकाबाट उठ्ने मनसुन क्लाउड आउने बाटो इथियोपिया, सोमालिया, यमनबाट अरेबियन सागर हुँदै आउने हावामा ठेलिएर बंगालको खाडी हुँदै जुरे कोइली नेपाल आउने उनले बताए ।

‘यस वर्ष मे महिनाको मध्यपछि मनसुन आउने पूर्वानुमान छ,’ उनले भने ‘गाजले पिट्टा र चित्रक पिट्टा पनि आइसकेका छैनन् । यी चरा प्रि-मनसुन सुरु हुँदा आउँछन् ।’ प्रि-मनसुनको हावाहुरीसँगै ठेलिएर यी चराहरू यहाँ आइपुग्छन् । यस वर्ष प्रि-मनसुन अप्रिलको अन्ततिर र मे सुरुतिर हुने पूर्वानुमान गरिएको छ । यहाँ करिब ६० प्रजातिका चरा आउँछन् । त्यसमध्ये सबैभन्दा पर अस्ट्रेलियाबाट आउने सेतो कण्ठे गौंथली पनि अझै आएको छैन । यो चराले नेपालमा ‘ब्रिड’ गरेको रेकर्ड छैन । यो मे मध्यतिर आउने बताइएको छ ।

‘वैशाख तेस्रो सातासम्म धेरै चराले गुँड लगाइसक्छन्’ चराविद् टीकाराम गिरीले भने, ‘जेठ अन्तिमसम्म बचेरा हुर्काइसक्छन् ।’ विदेशमा अहिले दिन र रात बराबरी हुने तर नेपालमा दिन लामो हुने भएकाले बढी समय आहारविहार गर्न पाउने हुँदा चरा यता आकर्षित हुने उनले बताए ।

बच्चा कोरलेर हुर्काउन सुरक्षित ठाउँ रोजीरोजी पाउने हुँदा यहाँ आउन आकर्षित हुने गरेको उनले बताए । गुँड बनाउन २ देखि ३ साता लगाउँछन् । दुईदेखि ३ साता ओथारो बस्छन् । दुईरतीन महिनामा बचेरा हुर्काउँछन् । अक्टोबर अन्ततिर फर्कन्छन् । सबै अवस्था राम्रो भयो भने दोस्रो पटक पनि ब्रिड गरेर फर्कने गरेको धेरै पाइएको चराविद् दिनेश गिरीले बताए । फर्कंदा बचेरा जंगलमा नयाँ पालुवा र प्रशस्त चराका चिरबिर सुरु भइसकेका छन् । गाजले, सुनचरी, सुन्तले चाँचर र राजचरीले चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी उपवन क्षेत्रमा गुँड लगाइसकेको उनले बताए । ग्रीष्म आगन्तुक चरा ९० प्रतिशत बढी तराईदेखि मध्यपहाडी भागसम्म पुग्छन् । यहाँका चितवन, बर्दिया, शुक्लाफाँटा, पर्सा र बाँके राष्ट्रिय निकुञ्जमा बच्चा कोरल्न बढी आएका छन् ।

कान्तीपुरबाट

  • ८ बैशाख २०८१, शनिबार १८:३४ प्रकाशित
  • Nabintech