पाकिस्तानमा आज १० करोड मतदाता चुनावी अभ्यासमा लाग्दैछन् । यो संख्या कुल जनसंख्याको आधाजति हो । १८ वर्ष उमेर पुगेको हुँदैमा सबैले भोट खसाल्न पाउँदैन, जसको नाम निर्वाचन आयोगमा दर्ता छ उसले मात्र चुनावमा भाग लिन पाउँछ । भनिन्छ, नाम दर्ताको प्रकृया सहज छैन ।
पाकिस्तानमा त्यसै पनि ठूलो संख्यामा मतदाताहरू मतदान केन्द्रमा पुग्ने गर्दैनन्, त्यहाँ तीव्र चुनावी उत्साह, उमङ्ग देखिने गर्दैन । एक त राजनीतिक स्थिरता नहुने, अर्को कुरा सेनाले निर्वाचनको गतिविधिमा चाहिनेभन्दा बढी चासो राख्ने र नतीजालाई आफूले समर्थन गरेको पार्टी र नेताको अनुकूल लैजान खोज्ने प्रचलन । २१ वर्षअघि अर्थात् सन् १९९७ को निर्वाचनको घटनाको सम्झना हुन्छ जुन बखत पाकिस्तानमा ३५ प्रतिशतको हाराहारीमा मतदान भएको थियो र नतीजा निस्केपछि नवाज शरिफ दोस्रोपल्ट प्रधानमन्त्री भएका थिए । सन् ९७ को निर्वाचनको सम्झना हुनुको कारण त्यस बखत सार्कराष्ट्रका निर्वाचन पर्यवेक्षकहरूमा सामेल हुन डा. देवेन्द्रराज पाण्डेको अगुवाइमा पाकिस्तान पुगेको टोलीमा म पनि परेको थिएँ ।
पाकिस्तानको केन्द्रीय संसद्मा जम्मा ३४२ स्थान छन् जसमा ६० स्थान महिलाको लागि र १० स्थान अल्पसंख्यक (गैर मुस्लिम ) को लागि छुट्याइएको छ । यो आरक्षित स्थानलाई कटाउँदा आम(निर्वाचनमा जितिने स्थान २७२ हुन आउँछ । यसमा विजयी भै सरकार गठन गर्न कम्तीमा १३७ स्थान आवश्यक पर्छ । बहुमत पाउने पार्टीका नेता प्रधानमन्त्री बन्छन् जसको कार्यकाल पाँचवर्ष हुन्छ । त्यस हिसाबले नवाज शरिफको तेस्रो पटकको प्रधानमन्त्रित्व यसवर्ष यसैबेला सकिनुपर्ने थियो तर त्यहाँको सर्वोच्च अदालतले भ्रष्टाचारको मामिलामा दोषी ठहयाई उनलाई पोहोर साल नै पदमुक्त गरिदियो उनी अहिले कारावासमा छन् । शरिफ आफू पाकिस्तानी सेनाको दबाबमा रहेको न्यायपालिकाबाट राजनीतिक प्रतिशोधको शिकार भएको बताउँछन् । हुन पनि स्वतन्त्र पाकिस्तानले ७१ वर्षको कालखण्डमा करिव आधा समय सैनिक शासन नै बेहोरेको छ ।
आजको चुनावमा १२२ पार्टीका उम्मेदवार सहभागी हुँदै छन् तर तीनटा पार्टी मात्र सर्वाधिक चर्चामा रहेको देखिन्छ १) पाकिस्तान तेहरीक-ए-इन्साफ (पिटिआई) जसका नेता हुन् ६५ वर्षीय इमरान खान । साविकका क्रिकेट खेलाडी इमरान खानले सन् १९९२ मा पाकिस्तानलाई क्रिकेटमा विश्वकप दिलाएका थिए । (२) पाकिस्तान मुस्लिम लिग-नवाजका नेता शहबाज शरिफ । ६६ वर्षीय शरिफ यसअघि पञ्जाव प्रान्तका मुख्यमन्त्री थिए; र यिनी नवाज शरिफका भाइ हुन् । (३) पाकिस्तान पिपुल्स पार्टी जसको नेतृत्वमा पुगेका छन् २९ वर्षीय बिलावल भुट्टो जर्दारी । यिनी बेनजीरका छोरा हुन् ।
मुस्लिम लिगले नवाज थुनामा परेको हुँदा सहानुभूतिको मत पाउने र बिलावलले पनि यस्तै आधारमा जनसमर्थन पाउने अनुमान गरिन्छ तर यस पटकको चुनावमा विजयी हुने सर्वाधिक सम्भावना इमरान खानको छ भनिन्छ किनभने पाकिस्तानको सैनिक नेतृत्वले उनको पक्षमा वातावरण निर्माण गरिदिएको छ । सेनाले सुरक्षा संयन्त्र र प्रेसलाई इमरानको अनुकूल बनाएदिएको छ । पाकिस्तानको प्रसिध्द दैनिक पत्रिका ‘डन’ का व्यवस्थापक एवं राष्ट्रिय प्रेस संगठनका अध्यक्षले हालै बीबीसीलाई दिएको अन्तर्वार्तामा ‘मतदान अगावैको धाँधली’ ले निर्णायक नतीजा निकाल्ने अवस्था छ भनेका थिए ।
मतदान अगावै परिणाम थाहा भैसकेको छ भन्ने विश्लेषण अमेरिकामा पाकिस्तानका राजदूत रहिसकेका हुसेन हक्कानीले निकालेका छन् । उनको यस्तो विश्लेषण अमेरिकी प्रकाशन ‘फरेन पोलिसी’ मा छापिएको छ । पाकिस्तानी सेना शरिफ र भुट्टोका पार्टीहरूलाई पाखा लगाउने मानसिकतामा छ भनिन्छ । तर कदाचित् सेनाले खोजजस्तो भएन ९ इमरानको पार्टीले स्पष्ट बहुमत ल्याएन० भने गठबन्धनको सरकार निर्माण गर्नुपर्ने हुन्छ तर इमरान खान यस्तो गठबन्धनमा अनिच्छुक देखिन्छन् । मतदान निष्पक्ष हुँदा प्रतिस्पर्ध्दामा आउने सम्भावना भएको पार्टी शरिफको पार्टी हो किनभने पाकिस्तानका चार प्रान्तमध्येको ठूलो प्रान्त पञ्जाब हो जसबाट १४१ जना सदस्य निर्वाचित हुन्छन् । यहाँ शरिफ दाजुभाइको स्पष्ट प्रभाव भएको मानिन्छ ।
पाकिस्तानको चुनावलाई भारत र चीनले मात्र हैन अमेरिकाले पनि निकटबाट नियालिरहेका छन् । सेना हाबी हुनेगरी सरकार बनेमा चीनलाई त खास फरक नपर्ला तर भारत र अमेरिकाले भने यस्तो परिणामलाई सहज मान्ने छैनन् । पाकिस्तान पनि आणविक(शक्तिसम्पन्न देश भएको हुनाले दिल्लीले अतिरिक्त सजगता अपनाउनु एकहदमा स्वाभाविक नै हुनेछ । आउँदो केही महीनामा चुनावी अभ्यासमा जाने नरेन्द्र मोदीको सरकारले पाकिस्तानको घटना-विकासलाई ध्यानमा राखेर रणनीति तय गरेछन् भने त्यसलाई पनि अनौठो मान्न मिल्दैन ।
९ श्रावण २०७५, बुधबार ०९:३८ प्रकाशित