१७ चैत्र, काठमाडौँ । नेपाल ‘ए’ टोलीले तीन खेलको टी-२० शृंखलाअन्तर्गत शनिबार आयरल्यान्ड उल्भ्ससँग दोस्रो खेल खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुने छ । शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।
आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रनमात्रै बनाउन सक्यो ।
नेपालका लागि लोकेशले सर्वाधिक १०६ रनको इनिङ्स खेले। ५६ बल खेलेका उनले ९ चौका र ८ छक्का प्रहार गरे । आरिफ शेख ४९ रनमा आउट हुँदा कप्तान विनोद भण्डारीले १६ रनको योगदान दिए ।
नेपालका अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । जितसँगै आयरल्यान्डले शृंखलामा १-० को अग्रता बनाएको छ । शनिबारको खेलमा भने जित हासिल गर्दै शृंखला बराबरी गर्ने नेपाललाई मौका हुने छ ।
१७ चैत्र २०८०, शनिबार १०:३१ प्रकाशित