२५ फागुन, काेहलपुर । प्रेस सेन्टर नेपालको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ बिहिबारबाट बाँकेको कोहलपुरमा सुरू भएको छ । सम्मेलनको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका छन ।
प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको सम्मेलनकाे उद्घाटन गर्दै सापकोटाले ठुलो त्याग र बलिदानबाट प्राप्त भएका उपलब्धिमाथि खतरा उत्पन्न भएपछि गठबन्धन परिवर्तन गर्नुपरेको बताए ।
गठबन्धनमा रहेको नेपाली काँग्रेसबाटै संविधान, धर्म निरपेक्षता र गणतन्त्रमाथि खतरा उत्पन्न भएपछि अर्को गठबन्धनको बाध्यता आएको उनले चर्चा गरे ।
उनले भने, “शान्ति सम्झौताको सुरुवातदेखिकै एक महत्त्वपूर्ण सहयात्री नेपाली काँग्रेसले नै शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नदिने देखियो, अनि कसरी सहकार्य र समन्वय गर्न सकिन्थ्यो ?”
माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले अहिलेको गठबन्धन प्रगतिशील गठबन्धन भएको दाबी गर्दै यो गठबन्धन अगाडि बढ्दै गएर बृहत् वामपन्थी एकताबाट यसले शक्तिशाली कम्युनिष्ट पार्टीको गठन हुने बताए । उनले समाजवादको कुनै पनि विकल्प नरहेको जनाउँदै माओवादी आन्दोलनको अन्तिम लक्ष्य भनेको नै समाजवाद भएको प्रष्ट पारे ।
गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताको रक्षाका लागि नेपालको मिडियाले फेरि पनि ठुलो भूमिका निर्वाह गर्ने बेला आएको जनाउँदै नेता सापकोटाले त्यसको नेतृत्व प्रेस सेन्टरले गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारको पेसागत सुरक्षा र जीविकोपार्जन महत्पूर्ण विषय भएको बताउदै नयाँ मिडिया हाउसले गर्दा परम्परागत मिडियाहरु बन्द हुन थालेकाले पत्रकारहरू अहिले सङ्कटमा परेकाे उल्लेख गरे ।
प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जुगल’ ले अहिले नेपाली मिडिया एक चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेकाले सबैले सचेत भएर अगाडि बढ्नुपर्ने बताए ।
सम्मेलन उद्धाटन समारोहमा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वर गहतराज, माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल, सचिव कृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका उपाध्यक्षहरू निर्मल ज्ञवाली, अजयदिप शर्मा, महासचिव सन्तोष पौडेल, सल्लाहकार खिलबहादुर कार्की, प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह बिक लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।
सम्मेलनको बन्द सत्रमा श्रमजिवी पत्रकारको पारिश्रमिक, नेपाली पत्रकारिताको व्यवसायिक व्यवस्थापन, अग्रज पत्रकारहरुको सम्मान तथा नयाँ पत्रकारहरुका वृत्तिविकास कार्यक्रम, विज्ञापन नीतिमा सुधार, मिडियाको स्थानीयकरण, मिडियाको संरचनागत सुधारका योजना, पत्रकारका आस्थागत संगठनको मर्यादित व्यवस्थापनलगायत मुलुकका समसायिक राजनीतिक, आर्थिक सांस्कृतिक तथा सामाजिक विषयका एजेण्डाहरुमाथि छलफल भएकाे प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अध्यक्ष मानसिङ विश्वकर्माले जानकारी दिए ।
दुई दिनसम्म चल्ने सो मिडिया सम्मेलनमा लुम्बिनी प्रदेशको १२ जिल्लाका प्रेस सेन्टर आबद्ध पत्रकार र केन्द्रीय नेताहरू गरेर करिब २०० जनाको सहभागिता रहेको छ।
२५ फाल्गुन २०८०, शुक्रबार ०७:३६ प्रकाशित