२ फागुन, काेहलपुर । सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर-११ बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुगेका छन् । उपाधिको लागि बिहिबार सुदूरपश्चिम र कोहलपुर मेयर-११ बीचको खेल कोहलपुर क्रिकेट मैदानमा बिहान १० बजे प्रतिस्पर्धा गर्नेछन् ।
कोहलपुर नगरपालिका द्वारा आयोजित प्रतियोगिताको लिग चरणको सबै खेल समाप्त हुँदा सबै चार खेल जित्दै ८ अंक सहित कोहलपुर मेयर-११ अंकतालिकाको शिर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का गर्यो । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको समान ४ अंक रहेता पनि नेट रन रेटमा अघि रहँदै सुदूरपश्चिम अंकतालिकाको दोश्रो स्थानमा रहेर फाइनल प्रवेश गर्यो। सुदूरपश्चिमको नेट रन रेट ०.०६६१, गण्डकीको ०.३१५ र बागमतीको -०.४९२ रह्यो ।
प्रतियोगिता अन्तर्गत आज सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर-११ विजयी भए । सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई तथा कोहलपुर मेयर-११ ले बागमती प्रदेशलाई पराजित गर्यो ।
आजको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्यो ।
लुम्बिनीले दिएको ६० रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेट गुमाएर ७.४ ओभरमा भेटायो ।
सुदूरपश्चिमको लागि मनिषा बोहराले १४ बलमा ४ चौका मद्दतले सर्वाधिक २३ तथा अनु कडायतले १७ बलमा ३ चौका मद्दतले १८ रन योगदान दिईन् । स्नेहा महराले १० रन योगदान दिईन् । लुम्बिनीको बलिंगमा सुश्मिता भुसालले २ र सरु तिवारीले १ विकेट लिईन् ।
यस अघि टस जितेर ब्याटिंग गरेको लुम्बिनीले १९.३ ओभरमा ५९ रनमा सबै विकेट गुमायो ।
लुम्बिनीको लागि एन्जिला पाठकले सर्वाधिक १७ रन योगदान दिईन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमले अतिरिक्तको रुपमा १७ रन खर्चियो ।
सुदूरपश्चिमको बलिंगमा रबिना साउदले सर्वाधिक ३ विकेट लिईन् । प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा ९ रन खर्चिन्। करिश्मा थापाले २ तथा अनु कडायत र निशा खडायतले १/१ विकेट लिईन् ।
आजको दोश्रो खेलमा कोहलपुर मेयर-११ ले बागमती प्रदेशलाई ४६ रनले पराजित गर्यो ।
कोहलपुर मेयर-११ ले दिएको १३३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो ।
बागमतीको लागि बिपिशा शाहीले सर्वाधिक २१ रन, अलिशा खड्काले १८ तथा क्रिश्मा गुरुङले १६ रन योगदान दिईन् ।
कोहलपुर मेयर-११ को बलिंगमा प्रतिमा शाहले २ विकेट लिंदा भवानी कमाती, आरति महतो, दिक्ष्या पुरी र रिया शर्माले १/१ विकेट लिए ।
टस जितेर ब्याटिंग गरको कोहलपुर मेयर-११ ले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १३२ रन बनायो ।
कोहलपुरको लागि कप्तान साना प्रभिनले अविजित ४८ तथा अविजित एलिशा यादवले ४७ रन बनाए । प्रभिनले ६० बलमा ५ चौका तथा यादवले ४६ बलमा ६ चौका प्रहार गरे । किरन कुँवरले १५ रन बनाए । दोश्रो विकेटको लागि प्रभिन र यादवले अविजित १०३ रनको साझेदारी गरे ।
खेलको प्लेयर अफ द म्याच साना प्रभिन घोषित भईन् ।
२ फाल्गुन २०८०, बुधबार १८:२६ प्रकाशित