२ फागुन, तानसेन । पाल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा तिनाउ-६, की ६० वर्षकी यनकुमारी पन्त, सोही स्थानका ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षका कृष्णबहादुर अस्लामी, २८ वर्षकी उर्मिला अस्लामी रहेका छन । यस्तै बुटवल उपमहानगरपालिका-१४ का ७० वर्षीय चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षकी चुना रणपालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
यस्तै तिनाउ-२, की २० वर्षीया गीता सुनार, रिव्दीकोट-१ की ६६ वर्षीया विष्णुकला कामी, सोही स्थानकी ६५ वर्षीया दिलकुमारी सुनार र रुपन्देही जिल्ला देवदह नगरपालिका-५, की २९ वर्षकी दिलमाया जिसीको मृत्यु भएको श्रेष्ठले बताए ।
दुर्घटनामा परी सात जना बालबालिका घाइते भएका छन् । प्रहरीका अनुसार रिव्दीकोट-१, की विद्या सुनार, सोही स्थानकी माया सुनार, आरभ सुनार घाइते भएका छन । यस्तै तिनाउ–६, का सौरभ पुन, रुपन्देही खैरेनीका विवेक जिसी, अस्मित जिसी र पहिचान नखुलेको दुई महिनाकी बालिका घाइते भएको लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।
यस्तै तिनाउ-६, की कृष्णा पन्त, सोही स्थानकी उमा रास्कोटी, अमृता गहतराज, शान्ति राना, कुलबहादुर नेपाली घाइते भएका छन । रिव्दीकोट-१ की रमा सुनार, रुपन्देही हरैयाकी भूमि पुन, तानसेन-१० का दानबहादुर चिदी, तिनाउ-२, की कमला सुनार घाइते भएको अस्पतालले जनाएको छ ।
मङ्गलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटना भएको थियो । प्रहरीका अनुसार जिप सडकदेखि तीन सय मिटर तल खसेको थियो ।
डुम्रेदेखि चिदिसतर्फ गएको जिप अत्यधिक लोडका कारण दुर्घटना भएको पाल्पाका प्रहरी उपरीक्षक हेरम्व शर्माले बताए । क्षमताभन्दा बढी लोड र उकालोमा सवारीसाधनले तान्न नसक्दा व्याक भएर दुर्घटना भएको प्रहरी उपरीक्षक शर्माको भनाई छ ।
२ फाल्गुन २०८०, बुधबार ०७:३९ प्रकाशित