नरैनापुरमा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु
  • काँचुली खबर

१८ माघ, नरैनापुर । जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ-गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड गाँउपालिकामै हुनजे भएपछि जिल्लाकै सबै भन्दा विकट मानिएको नरैनापुरका युवाहरुमा उत्साह देखिएको छ ।

यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा बाँकेका केही पालिकामा सम्पन्न भएको छ भने नरैनापुरमा एक कार्यक्रमका बिच बुधबार उदघाटन गरिएको छ ।

नरैनापुर गाँउपालिकाका उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उदघाटन प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले गरे । नरैनापुर गाउँपालिका स्तरीय अन्तर विद्यालय पाँचौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नरैनापुर ५ मा रहेको रंगशालामा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सन्चालन हुनेछन् ।

प्रतियोगिताको बुधबार उदघाटन गर्दै नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खरालले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको जिकिर गरे ।

उपाध्यक्ष श्रीवस्तवले ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गाउँपालिकामा खेलको आयोजना गरिएको बताए । उनले राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवका रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन नरैनापुर गाँउपालिकाको उल्लेखीय भूमिका खेलेको बताए ।

कार्यक्रममा विद्यार्थीहरुले गाँउपालिका उपाध्यक्ष श्रीवस्तवलाई मार्च पास गर्दै सलामी अर्पण गरेका थिए । तिन दिनसम्म चल्ने प्रतियोगितामा नरैनापुरका १० वटा विद्यालयका बालबालिकाहरूको सहभागिता रहेको नरैनापुर गाउँपालिकाले जनाएको छ ।

  • १८ माघ २०८०, बिहीबार १३:३९ प्रकाशित
  • Nabintech