११ माघ, काेहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले संस्थागत सुधारमा सकारात्मक नतिजा ल्याएकाे छ । स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा गत वर्ष आफैले प्राप्त गरेको अंकमा थप सुधार गर्दै सुशासनमा छलाङ मारेको हो ।
संस्थागत सुधार तर्फ आर्थिक वर्ष २०७९/०८० मा काेहलपुर नगरपालिकाले ८७.७५ प्रतिशत अंक ल्याउन सफल भएको सूचना तथा प्रविधि शाखा प्रमुख सागर चौधरीले जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिकाले गत आर्थिक वर्ष ०७८/०७९ मा ७९ प्रतिशत अंक हासिल गरेको थियो भने ०७७/०७८ मा केवल ४७.७६ प्रतिशत अंकमात्रै हासिल गरेको थियो ।
शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयलाई सूचक मानेर स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिन्छ ।
समग्रमा एक सय अंकलाई आधार मानेर मूल्यांकन गर्ने गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए । उनका अनुसार वार्षिक बजेट तथा योजना व्यवस्थापन र वित्तिय तथा आर्थिक व्यवस्थापनमा कोहलपुर नगरपालिकाले ११ मा ११ अंक नै हासिल गरेको छ । जनप्रतिनिधि तथा कर्मचारी सबैको सामुहिक प्रयासले संस्थागत सुधारमा सकारात्मक नजिता प्राप्त भएको कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले बताए ।
‘संस्थागत सुधार ल्याउनु भनेको विधि र पद्धतीलाई कार्यान्वयन गर्नु हो । अझ अर्को हिसावले भन्ने हो भने जनप्रतिनिधिलाई पनि कानुनको दायरामा थप कसिलो बनाउँदै जानु हो । सुशासन, पारदर्शीता र जवाफदेहितामा हामी जनप्र्रतिनिधि पनि निर्मम बनेर कसिएकाले यो परिणाम आएको हो’ नगर प्रमुख आचार्यले भने ।
११ माघ २०८०, बिहीबार १२:३१ प्रकाशित