नेपालगन्जमा सूर्तिजन्य पदार्थ पूर्णरुपमा निषेध गरिने
  • काँचुली खबर

९ माघ, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आगामी नयाँ वर्ष अर्थात् २०८१ वैशाख १ गतेदेखि नेपालगन्जमा सूर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमनु सम्बन्धमा बसेको बैठकले वैशाख १ गतेदेखि नगर क्षेत्रभरि सूर्तीजन्य पदार्थको उपभोग तथा बिक्रीमा पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको हो ।

नेपालगन्ज उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले दिएको जानकारी अनुसार उपमहानगरमा सूर्तीजन्य पदार्थको उपभोग तथा बिक्रीमा पूर्णरुपमा रोक लगाउने निर्णयलाई कडाईका साथ पालना गरिने निर्णय बैठकले गरेको छ ।

वैशाख १ गतेभन्दा अघिनै सूर्तीजन्य पदार्थबाट हुने हानी नोक्सानीबारे विभिन्न माध्यमबाट पालिकाभर व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालयसँगै वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयहरुमा सूर्तीजन्य पदार्थको उपयोग र वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने र सूर्तीजन्य पदार्थको उत्पादन र बिक्री वितरण गर्ने निकाय एवम् व्यवसायीको तथ्याङ्क सङ्कलन गर्ने निर्णय पनि गरिएको स्वास्थ्य महाशाखा प्रमुख चन्दले बताए ।

नेपालगन्ज उपमहानगरका प्रमुख विष्टले सो निर्णयबारे जानकारी गराउँदै आगामी वैशाख १ गतेदेखि नगरमा पूर्णरुपमा सूर्तीजन्य पदार्थ निषेध गर्ने निर्णय गरिएको र त्यस अघि सचेतना प्रबद्र्धनसँगै तयारी अभियान सञ्चालन गरिने बताए ।

बैठकमा सहभागि नेपाल सरकारका उपसचिव पुष्कर नेपालले सङ्घीय ऐनमा सूर्तीजन्य पदार्थ नियमन र नियन्त्रणका विषयमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारहरुले तदारुकता देखाउन आवश्यक रहेको बताए ।

बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

उपमहानगरले गरेको सो निर्णयको उपमहानगरका स्थानीय वासिन्दाले स्वागत गरेका छन् । तर उनिहरुले सो निर्णयको पूर्ण कार्यान्वयनमा आशङ्का समेत व्यक्त गरेका छन् ।

  • ९ माघ २०८०, मंगलवार १६:१२ प्रकाशित
  • Nabintech