२९ पुस, नेपालगन्ज । मानव ओसारपसार तथा बेचविखन विरुद्ध पैरवी गर्दै आईरहेकाे संस्था शुभ सन्देश सभा नेटवर्क (ज्ञान नेपाल) ले चालु आर्थिक वर्षको ६ महिनामा ६ सय ६७ जनालाई सूचना तथा परामर्श सेवा प्रवाह गरेको जनाएकाे छ । संस्थाले शनिबार नेपालगन्जमा सम्पन्न गरेको वार्षिक प्रगति पस्तुत तथा अन्तरक्रिया कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत तिलकबहादुर नेपालीले उक्त कुराको जानकारी दिएका हुन ।
जसमध्ये २ जना महिलालाई उद्दार गरि साथि संस्थामा पठाइएको छ । यसअघि आर्थिक वर्ष २०७९/८० मा संस्थाले १ हजार ७ सय ७३ जनालाई सूचना तथा परामर्श प्रवाह गरेको थियाे । जसमध्ये १४४ जना (९१ महिला र ५३ जना पुरुष) लाई परामर्श पश्चात घर फकाइएको र ३ जनालाई शक्ति समुहको सेल्टर होममा पठाइएको नेपालीलेे जानकारी दिए ।
नेपालगन्जको जमुनाहा नाकामा सञ्चालन गरिएको बुथबाट गत आर्थिक बर्षमा नेपालबाट भारततर्फ जाँदै गरेका नागरिकलाई परामर्श दिई भारत जान रोकेर घरतर्फ फर्काइएको कार्यक्रम अधिकृत नेपालीले बताए ।
बाँके, बर्दिया, दाङ, कपिलबस्तु र जुम्ला जिल्लाका दलित, सिमान्तकृत, विपन्न, असहाय तथा प्राकृतिक विपद पीडितहरुलाई लक्षित गरि विभिन्न सामाजिक कार्यहरु समेत सञ्चालन गर्दै आइरहेको नेपालीले बताए ।
संस्थाले लक्षित वर्गको आर्थिक विकास, सामुदायिक सशक्तिकरण, प्रत्यक्ष सहयोग तथा सेवामुखी कार्यक्रम अन्तर्गत गत आर्थिक बर्षमा बाँके, बर्दिया, दाङ, कपिलबस्तु र जुम्लाका अत्यन्तै विपन्न तथा असहाय अवस्थाका १ सय १९ जना बालबालिकालाई अध्ययनकालागि छात्रबृत्ति प्रदान गरेको संस्थाका उपाध्यक्ष डा. डक्टप्रसाद धितालले जानकारी दिए ।
वैकल्पिक रोजगारस्वरुप विपन्न तथा कमजोर आर्थिक अवस्था भएका १० परिवारलाई विभिन्न व्यवसायिक लघु परियोजना अन्तर्गत बङ्गुरपालन, बाख्रापालन, किराना पसल सञ्चालन, फ्रेस हाउस सञ्चालनलगायतमा सहयोग पुराइरहेको उपाध्यक्ष धितालले बताए ।
उनका अनुसार संस्थाले गत बर्षमा बर्दियामा एक विपन्न एवं दलित परिवार र बाँकेको नेपालगन्जमा एक जना असहाय तथा एकल महिलालाई बस्नका लागि आवास निर्माण गरेको छ । खानेपानीको अभाव भोगिरहेका बर्दियाको एउटा वस्ती र दाङको दुईवटा वस्तीका बासिन्दाहरुलाई सामुहिकरुपमा खानेपानी उपभोग गर्नका लागि मोटरजडित पानीट्याङ्की निर्माण गरि खानेपानीको व्यवस्था गरिदिएको उनले जानकारी दिए ।
संस्थाले जुम्लाको सिँजामा दृष्टिविहिन तथा विपन्न विद्यार्थीहरुलाई छात्रबाससहित शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त छात्रबासमा ५ देखि २१ बर्ष उमेर समुहका ६ महिला र १० पुरुष गरि १६ जना दृष्टिविहिनहरुले विभिन्न कक्षामा निरन्तर शिक्षा हासिल गर्दै आइरहेको ज्ञान नेपालले जनाएको छ । गतबर्ष मुगु र जुम्लामा गएको पहिरोमा परि पीडित बनेका जुम्ला सिँजाक्षेत्रका ६७ पहिरो पीडित घरपरिवार र छायानाथ रारा ११, मुगुका ७० पहिरो पीडित घरपरिवारलाई खाद्यान्न तथा लत्ताकपडा राहतस्वरुप वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।
गत कार्तिक १७ गते राति गएको भूकम्पका कारण पीडित बनेका जाजरकोटको भेरी नगरपालिका ४ मुलपानी र बोहोरा गाउँमा पुगी त्यहाँका ३ सय ६७ घरपरिवारलाई बाक्लो कम्बल, पीफोर्म तथा लगाउने लत्ता कपडासमेत वितरण गरिएको संस्थाका उपाध्यक्ष धितालले जानकारी दिए । संस्थाले सञ्चलान गर्दै आएका कार्यक्रमहरुलाई निरन्तरता दिदै आगामी दिनमा मानव ओसारपसार तथा बेचबिखनको जोखिममा रहेका महिलाहरुलाई उद्दारपश्चात् आपतकालिन ट्रान्जिटका लागि यथाशिघ्र सेफ हाउस निर्माण कार्य सञ्चालन गरिने उनले बताए ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सेना, नेपाल पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष संगिन शर्मा, साथि संस्थाका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख लगायतले संस्थाले गरेकाे गतिविधिकाे प्रशंसा गर्दै विभिन्न सुझाव दिएका थिए ।
२९ पुष २०८०, आईतवार ०९:३० प्रकाशित