उपमहानगरपालिकाद्वारा अबैध इ-रिक्सा नष्ट, सामाजिक संजालमा बिराेध
  • काँचुली खबर

२४ पुस, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इ-रिक्सा नष्ट गर्न सुरु गरेकाे छ । लामो समयदेखि इ-रिक्सा व्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि गर्न नसकेका इ-रिक्सा नष्ट गर्न सुरु गरेको हो । मंसिर १९ गतेदेखि अवैध इ-रिक्सा नियन्त्रण अभियान थालेको नेपालगञ्ज उपमहानगरपालिकाले आज ५ वटा इ-रिक्सा नष्ट गरेको छ ।

आवश्यक कागजात नभएका ती इ-रिक्सा प्राविधिक जाँच गरी नष्ट गरिएको हो । भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरको इ-रिक्सा जेसिबीले नष्ट गरेको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए । यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशिल शर्माले इ-रिक्सा धनी/चालककै अगाडि कागजात अद्यावधिक भए/नभएका, चेसिज नम्बर मिले/नमिलेको वा भए/नभएको प्राविधिक जाँच गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाले इ-रिक्सा नियन्त्रण गर्नुअघि पटक-पटक प्रक्रिया पुर्याउन आग्रह गरेको थियो । नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर इ-रिक्सा अद्यावधिक गर्न समय दिइएको थियो । नगर प्रमुख प्रशान्त विष्टले नगरमा अवैध इ-रिक्सा गुड्न पूर्णरूपमा प्रतिबन्ध लगाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका दृढ भएर लागेको बताए । “हामीले पटक-पटक भनेको हौं, अद्यावधिक गर्न समय पनि दिएका थियौं, नियन्त्रणमा लिइएका धेरै इ-रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छोडेका छौं, अवैध इ-रिक्सा हामीले नष्ट गर्न सुरु गरेका छौं,” नगर प्रमुख विष्टले भने “अब हामी निरन्तर अगाडि बढ्छौं, नीति नियम र कानुन भन्दा बाहिर गएर चल्ने छुट कसैलाई छैन ।”

नेपालगञ्ज उपमहानगरपालिकाले हालसम्म ६२३ इ-रिक्सा नियन्त्रण लिएको छ । ती मध्ये आवश्यक कागजात र प्रक्रिया पुर्याएपछि ५३८ इ-रिक्सा फिर्ता भएका छन् । अझै पनि ८५ वटा इ-रिक्सा नियन्त्रणमै छन् । ती इ-रिक्सामाथि पनि छानविन भईरहेकाे उपमहानगरपालिकाले जनाएकाे छ ।

यसैबिच उपमहानगरपालिकाले गरिब मजदुरकाे पेटमा लात हानेकाे भन्दै सामाजिक संजालमा चर्काे बिराेध भईरहेकाे छ । उपमहानगरपालिकाले गरिवकाे राेजिराेटि खाेस्ने नीति लिएकाे भन्दै सामाजिक संजाल प्रयाेगकर्ताहरूले उक्त निर्णय सच्याउन आग्रह गरेका छन ।

  • २४ पुष २०८०, मंगलवार २०:१८ प्रकाशित
  • Nabintech