९ पुस, काेहलपुर । कोहलपुरमा भोलिदेखि सुरु हुने सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको संचालन र व्यवस्थापनमा आयोजित उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु हुने प्रतियोगिताको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले दिउँसो एक बजे कोहलपुर नगरपालिका-२ स्थित तेह्र विघा खेल मैदानमा उद्घाटन गर्नेछन । तर खेलकुद गतिविधिहरु भने विहान सात बजेदेखि नै सुरु हुने प्रतियोगिता आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख आचार्यले अन्तर मावि मेयर कप तथा पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगितालाई खेल उत्सवका रुपमा लैजाने योजना पालिकाको रहेको बताए । उनले कोहलपुरलाई खेलकुदका माध्यमबाट राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने गरी अगाडि बढेको समेत बताए ।
‘हालै सम्पन्न कोहलपुर गोल्डकपले कोहलपुरको पहिचानलाई राष्ट्रियस्तरमा पुर्याएको हामीलाई महसुस भएको छ’ उनले भने ‘विधागत क्षेत्रका खेलहरुलाई संस्करणकारुपमा लैजाने गरी समन्वय र सहकार्य गर्दै आएका छौं ।’
प्रतियोगितामा कोहलपुर नगरक्षेत्रका (सामुदायिक र निजी) ३६ माध्मामिक विद्यालयका १ हजार ३ सय ६७ जना खेलाडी (छात्रछात्रा)हरुले भाग लिँदैछन् । जसमा छात्र ७ सय ९६ जना र छात्रा ५ सय ७१ जना रहेको मल्लले जानकारी दिए ।
प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कपडी र मार्सलआर्ट (तेक्वन्दो, उस्सु र कराँते) का चार इभेन्ट समावेश गरिएको छ । यो वर्षदेखि मार्सलआर्ट विधा थप भएको छ । प्रतियोगितामा ५० गोल्ड मेडलका लागि प्रतिस्पर्धा हुनेछ । अघिल्ला वर्षहरुमा विद्यालयहरुले अन्तर मावि मेयर कप तथा पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिताहरुको व्यवस्थापन गर्दै आएकोमा यो वर्षदेखि कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुन लागेको नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए ।
‘छैठौ अन्तर मावि मेयर कप तथा १५ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको कृष्ण माविले सातौं अन्तर मावि मेयर कप तथा १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजनाका लागि कोहलपुर नगर खेलकुद विकास समितिलाई झन्डा हस्तान्तरण गरेसँगै यो प्रतियोगिता समितिको व्यवस्थापनमा पहिलो पटक हुन लागेको हो’ उनले भने ।
९ पुष २०८०, सोमबार १९:५१ प्रकाशित