गाेरखाले उचाल्याे प्याब्सन काेहलपुर रनिङ शिल्डकाे उपाधि
  • काँचुली खबर

९ पुस, काेहलपुर । प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० काे उपाधि गोरखा युनाइटेड पब्लिक सेकेण्डरी स्कुलले उचालेकाे छ । तेह्र बिगाह मैदान काेहलपुरमा पुस ६ देखि ८ गतेसम्म संचालन भएकाे प्रतियोगितामा सहभागी विद्यालयहरुमध्ये दुवै तहमा सबैभन्दा बढी पदक जितेर गोरखा स्कुल च्याम्पियन भएको हाे ।

गोरखाले प्रतियोगितामा सहभागी विद्यालय मध्ये सबैभन्दा बढी स्वर्ण सहित १४ पदक जित्न सफल भएको छ । प्रतियोगितामा उसले आठ स्वर्ण, चार कास्य र दुई रजत पदक हात पार्न सफल भयो ।

यस्तै कुल १८ पदक जित्दै डाइनामिक मावि कोहलपुरले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । डाइनामिकले सात स्वर्ण, सात कास्य र चार रजत पदक जितेको छ । डाइनामिककाे पदक संख्या बढी भएपनि स्वर्ण पदक कम जित्दा गोर्खा भन्दा पछि परेको हो ।

यस्तै मावि तहमा ६ पदकसहित रामजानकी मावि तेस्रो हुन सफल भएको छ । तेस्रो स्थान हासिल गर्न सफल रामजानकीले चार स्वर्ण, एक कास्य र एक रजत पदक जित्न सफल भएको हो ।

यस्तै आधारभुत तहमा भने दुई स्वर्ण पदक र एक रजत पदकसहित ग्रिनपिस मावि चप्परगौडी प्रथम भएको छ । दुई स्वर्ण पदकसहित रामजानकी मावि दोस्रो हुँदा एक स्वर्ण पदक र एक रजत पदकसहित प्रयत्न मावि तेस्रो हुन सफल भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा गोर्खा युनाइटेडकी तुल्सा दमाई व्यक्तिगत चार स्वर्ण र सामुहिक २ सहित कुल ६ पदक जित्दै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् भने निम्बल एकेडेमीका शौरभ वली दुई स्वर्णसहित सर्वोत्कृष्ट छात्र घोषित भए ।

प्रतियोगितामा कोहलपुर र बैजनाथगरी कूल २७ विद्यालय सहभागी थिए । प्रतियोगितामा मावि तहका १४ र आधारभुत तहमा १३ विद्यालयले मात्रै पदक जित्न सफल भए । बाँकी विद्यालय भने पदकविहीन भएकाे आयाेजकले जनाएकाे छ ।

प्रतियोगितामा ७ सय ६१ जना मावि र ३ सय २३ जना आधारभूत तहका विद्यार्थी गरी कूल एक हजार ८४ जना खेलाडी सहभागी भएको जनाईएको छ ।

प्याब्सन कोहलपुरको सञ्चालन तथा व्यबस्थापनमा र प्याब्सन बैजनाथको सहकार्यमा पुष ६ देखि सुरु भएको प्रतियोगिता आइतबार सकिएको हो ।

  • ९ पुष २०८०, सोमबार ०७:२३ प्रकाशित
  • Nabintech