६ पुष, नेपालगन्ज । हुस्सु र कुहिरोका कारण हुने सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके प्रहरीले सवारी साधनमा रिफेल्टिभ स्टिकर (चम्किने स्टिकर) टाँस्ने अभियान थालेको छ । चिसो बढेसंगै तराईमा लाग्ने हुस्सु र कुहिरोको कारण सवारी दुर्घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै बाँके प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी साधन तथा विद्यार्थीको झोलामा रिफेल्टिभ स्टिकर टाँस्ने अभियान थालेको हो ।
ट्राफिक प्रहरीको नेतृत्वमा प्रहरीले सवारी साधन सहित विद्यालय जाने आउने विद्यार्थीहरुको ब्यागमा समेत रिफेल्टिभ स्टिकर टाँस गरेको छ । कुहिरोमा रिफेल्टिभ स्टिकर टाढैबाट टल्कने र दुर्घटनाबाट जोगाउन सकिने प्रहरीले विश्वास लिएको छ ।
कुहिरो र हुस्सुका कारण अगाडीको सवारी साधन र पैदल हिँड्ने विद्यार्थीहरुलाई देख्न नसकेर हुन सक्ने दुर्घटनालाई रिफेल्टिभ स्टिकरबाट न्यूनिकरण हुन सक्ने बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए । रिफेल्टिभ स्टिकर टाँस्ने अभियान अन्तर्गत मंगलबारमात्र नेपालगन्जको धम्बोझी क्षेत्रमा तीन सयबढी सवारी साधनमा रिफेल्टिभ स्टिकर टाँस गरिएको डीएसपी डाँगीले जानकारी दिए ।
रिफेल्टिभ स्टिकर टाँस गर्ने अभियानको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बिद्यार्थीले बोकिरहेको स्कुल ब्यागमा रिफेल्टिभ स्टिकर टाँसेर आरम्भ गरेका थिए । कार्यक्रममा बाँकेका प्रहरी प्रमुख सुभाषचन्द्र बोहरा र राष्ट्रिय अनुसन्धान कार्यालयका उप-निर्देशक मोहन कुँवरलगायतको सहभागिता रहेको थियो ।
प्रहरीले बाँकेका बिभिन्न स्थानहरुमा ट्राफिक सचेतना सहित रिफेल्टिभ स्टिकर टाँस्ने अभियान चलाउने जनाएको छ ।
६ पुष २०८०, शुक्रबार १५:१३ प्रकाशित