सवारी दुर्घटनामा ज्यान गुमाएका प्रहरी जवानको परिवारलाई आर्थिक सहयोग
  • काँचुली खबर

५ पुष, कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले गाडीको ठक्करबाट मृत्यु भएका प्रहरी जवानको परिवारलाई सहयोगस्वरुप आर्थिक सहायता प्रदान गरेको छ ।

प्रहरी जवान विशाल ओलीको परिवारलाई नगद आर्थिक सहयोग प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

प्रनाउ डाँगीका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतमा रहेका कार्यरत प्रहरी अधिकृत, हवल्दार तथा जवानहरुले स्वेच्छिक रुपमा सङ्कलन गरेको नगद दुई लाख ५७ हजार नौ सय ८८ रुपियाँ रकम सहयोगस्वरुप स्वर्गीय प्रहरी जवानको आश्रित परिवारलाई हस्तान्तरण गरिएको हो ।

प्रहरी कर्मचारी र कार्यालयबाट सङ्कलित उक्त रकम रुकुमपश्चिममा रहेको स्वर्गीय ओलीकै घरमा पुगेर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगी र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले परिवारका सदस्यलाई हस्तान्तरण गरेका हुन ।

मुसीकोट नगरपालिका १३ छिवाङ रुकुमपश्चिम घर भएका प्रहरी जवान ओलीलाई गत मंसिर २८ गते राति कोहलपुरको मदनचोकमा डिउटीमै रहेका बेला पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे १ च ३४०७ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो । ठक्कर दिएपछि उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उनको मृत्यु भएको थियो ।

  • ५ पुष २०८०, बिहीबार १४:२७ प्रकाशित
  • Nabintech