पुर्खौली पेशा संकटमा, बैकल्पीक पेशा रोज्दै सोनाहा जाती
  • काँचुली खबर

२८ मंसिर, नेपालगन्ज । बर्दियाका सोनाहा जातीको पेशा संकटमा पर्दै गएको छ । पुर्खौंदेखी नदिमा सुन चालेर जिविको पार्जन गर्दै आएका सोनाहा जातीको पेशा दिनप्रतिदिन संकटमा पर्दै गएको हो । बर्दिया सैजना टापुका हुननरसिङ सोनाहाको मुख्य पेशा सुन चाल्नु हो । कर्णाली नदीमा सुन चालेर जीविका चलाउँदै आएका हुनरसिङ अब यो पेशाबाट जीवन धान्न नसक्ने अवस्थामा पुगेको बताउँछन ।

नदीको बालुवा चालेर फेला पर्ने सुनले गुजारा चलाउँदै आएका हुनरसिंह नदीको जलस्तर घट्दै गएका कारण सुन भेटिन छाडेको बताउँछन । बिहानदेखि साँझसम्मै नदीमा पसेर बालुवा चालेपनि अचेल नदीमा सुन भेटिन्न । बालुवामा सुन खोज्दा आफ्ना सबै नङ खिइने र हातखुट्टासमेत पाक्ने गरेका उनी बताउँछन । ‘जति नै दुःख गरे पनि परिवार पाल्न नसकिने भइयो, त्यसैले यो पेशा छोड्नुको विकल्प छैन’ उनले भने ।

हुनरसिंह जस्तै बर्दिया स्थित कर्णाली नदिको तल्लो तटीय क्षेत्रमा बस्ने सबै सोनाहा समुदायको पेशा यत्तिखेर सङ्कटमा छ । नेपालभरी करिब दुई हजार मात्र जनसङ्ख्या रहेको सोनाहा समुदायको पेशा सङ्कटमा पर्दै गइरहे पनि यस विषयमा कसैको चासो जान सकेको देखिँदैन । सुन चालेर र माछा मारेर जीविका चलाउँदै आएको यो समुदायको बसोबास खासगरी कञ्चनपुर कैलाली र बर्दिया लगायत पश्चिम तराईमा छ । सोनाहाको उद्गम थलोचाहिँ बर्दिया स्थित कर्णाली नदिको तल्लो तटीय क्षेत्र नै हो ।

जीवन निर्वाहको पेशा नै सङ्कटमा पर्दै गएसँगै यहाँका सोनाहाहरू यतिखेर आफ्नो पेशा बदल्ने सोचमा छन् । कर्णाली नदी र यसमा आधारित स्रोतहरू घट्नु र यी स्रोतहरूमा अन्य समुदायको पकट तथा सरकारी संयन्त्रको नियन्त्रणकाकारण उनीहरूको पेशा सङ्कटमा परेको हो ।

नेपालको लोपोन्मुख जाती मध्यको अति सङ्कटापन्न जाती सोनाहा हो । थारु समुदायजस्तो देखिने भए पनि आफ्नै भाषा, संस्कृति, रहनसहनमा रहेका सोनाहहरु यत्तिखेर गाँस-बाससँगै आफ्नो पहिचानकालागी लडाइँ लड्दै आइरहेका छन् ।

सोनाहा समाजका अध्यक्ष शान्ति सोनाहा सोनाहा जातीको पेशा पछिल्लो समय सङ्कटमा परेको बताउँछिन ।

‘सोनाहा जातीले गर्ने पेशा गैर सोनाहाले गर्न सिकेपछि हामी पछि परेका छौ’ शान्तीले भनिन्, ‘सोनाहा पुग्न नसक्ने ठाँउहरुमा गैर सोनाहा जातीको पहुँच छ । उहाँहरूको जनसङ्ख्या धेरै भएकाले उहाँहरू छिटो र धेरै ठाउँमा पुग्न सक्नहुन्छ । फेरी उहाँहरू बारुद पड्काउनुहुनछ, करेन्ट लगाउनुहुन्छ अनि विषादीको प्रयोग गर्नुहुन्छ । तर हामी त्यसो गर्दैनौ । हाम्रो माछा मार्ने तरिका विशुद्ध जाल खेल्ने हुन्छ । बारुद पड्काउन, करेन्ट लगाउन र विषादी प्रयोग गर्न हाम्रो धर्मले दिँदैन । त्यसैले हाम्रो पेशा सङ्कटमा परेको छ ।’

उनले गैर सोनाहाहरुले खेल्ने गरेको चौरी जालका कारण माछाहरूको उठीवास लगाएको दाबी गरीन । सोनाहाले भनिन् ,‘चौरी जाल धेरै गहिराइसम्म पुग्ने भएकाले माछाहरू जुन ठाउँमा बस्नु पाउनु पर्ने हो सो ठाउँमा बस्न पाउँदैनन् र जुन ठाउँमा खेल्न पाउनु पर्ने हो सो ठाउँमा खेल्न नपाउनुले माछाहरू भारततर्फ पलाएन भएका छन ।’

माछाहरूको बस्ने घर अन्य समुदायका मान्छेले प्रयोग गर्ने चौरी जालले भत्काइदिँदा माछाहरू भागेको र नदीमा माछा पाइन छोडेको उनको भनाई छ ।

माछा मार्ने पेशा मात्र होइन सोनाहाको सुन चाल्ने पेशापनि सङ्कटमा परेको युवा अगुवा बालकृष्ण सोनाहाको भनाई छ।

बालुवा चालेर सुन खोज्ने र माछा मार्ने एवं डुङ्गा चलाउने परम्परागत पेसामा सामुदायिक वन र बर्दिया राष्ट्रिय निकुञ्जले रोक लगाएपछि उनीहरूको सदियौँ देखि चलिआएको परम्परागत पेसा सङ्कटमा परेको उनी बताउँछन । बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा करिब ७ सय २९ जनाको सङ्ख्यामा सोनाहाको बसोबास रहेको छ।

उनले लोपोन्मुख जाती भएर सर्वोच्च अदालतले २०७२ मङ्सिर १९ गते नै सोनाहा जातिलाई सूचीकृतको परमादेश दिएको भए पनि सूचीकृत नहुँदा राज्यबाट पाउने सुविधाबाट वञ्चित हुनु परेको बताए । लोपोन्मुख जाती भएर पनि नेपालको जातीय सूचीमा नपरेको प्रति दु:ख ब्यक्त गर्दै सोनाहाले सबै सरोकार निकायलाई यस विषयमा गम्भीर हुन आग्रह समेत गरे ।

सोनाहाका यी दुवै पुर्खौली पेशा सङ्कटमा परेपछि केही परिवारले भने वैकल्पिक पेशा रोज्न थालेका छन् । कतिपयले गिटी बालुवा चाल्ने काम गरीरहेका छन भने कतिले कपाल काट्ने काम सुरु गरेका छन् ।

आय आर्जनको स्रोतका रुपमा वैकल्पिक पेशा अँगाल्न बाध्य भएका सोनाहा जाती पुर्खौली पेशा चटक्कै छाड्दा आफ्नो पहिचान हराउने हो कि भन्ने चिन्तामा छन । यद्यपी पछिल्लो समय आफ्नो अधिकार प्राप्तीकालागी सोनाह जातीका अगुवाहरू अग्रसर हुन थालेका छन् ।

गेरुवाका दुखाराम सोनाह पुर्खोली पेशाबाट गुजारा गर्न समस्या भएपछि आफुले कपाल काट्ने पेशा अगाल्नु परेको बताउँछन । ‘बाच्नै मुस्किल भएपछि पुर्खोली पेशा भनेर बसिरहन सकिदो रहेनछ, मन त अहिले पनि खोलामै जाउँ-जाउँ भन्छ, तर के गर्नु खोलामा न माछा पाइन्छ, न मरेर खोजेको सुनले पेट पाल्नै पुग्छ’उनले भने ।

‘सोनाहाको पहिचान नै खोला हो, नदी हो । उनीहरूले पानीमै हुर्कन सिके अनि पानीमै बाच्न सिके ।’ नदी खोला र यहाँको जैविक विविधताकै एक अभिन्न अङ्गका रुपमा सोनाहा जाती रहेको बताउँछन राज सोनाहा ।

रेडीयोनेपालबाट

  • २८ मंसिर २०८०, बिहीबार १३:३१ प्रकाशित
  • Nabintech