२२ मंसिर, कोहलपुर । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले कोहलपुर क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन । दशौ राष्ट्रिय खेलकुदको तयारी बैठककालागी सुर्खेत जाने क्रममा क्रिकेट रङ्गशालाको अवलोकन गर्दै मन्त्री लिम्बुले यस अघि शिलान्यास भएको महिला क्रिकेट एकेडेमीको काम अगाडी बढाउने प्रतिवद्धता जनाएका छन ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र मन्त्रालयका सचिव रविलाल पन्थ सहित कोहलपुर पुगेका मन्त्री लिम्बुले स्थानिय तहसँगको सहकार्यमा रङ्गशालाको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन ।
मन्त्री लिम्बुले समयमा नै रङ्गशालाको काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन समेत दिएका छन । गुणस्तरीय र प्रभावकारी काम गर्न निर्देशन दिदैं मन्त्री लिम्बुले महिला क्रिकेट एकेडेमीको काम छिट्टै अगाडी बढाईने बताए । यस अघि पुर्व युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रङ्गशाला परिसरमा महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका थिए ।
पाँच विगाह क्षेत्रफलमा फैलिएको क्रिकेट रङ्गशालामा अहिले प्याराफिट निर्माणको कार्य भईरहेको छ । करिब दुई करोड ११ लाख बजेटमा निमार्ण हुँदै गरेको प्याराफीट २०८१ जेठ भित्र सम्पन्न हुनुपर्ने सम्झौता रहेको राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य लेखबहादुर क्षेत्रीले जानकारी दिए ।
युवा तथा खेलकुद मन्त्रालयका इन्जिनियर चिरिञ्जीवी लम्सालले पहिलो चरणमा ८ वटा प्याराफिट ब्लक निर्माण गरीने जानकारी दिए । करीब १२ सय बढि दर्शक बसेर हेर्न मिल्ने प्याराफिटको अहिले कंक्रिटको काम भईरहेको जानकारी दिदैं लम्सालले २ करोड ९८ लाखमा सम्झौता भई काम सुरु भएको बताए ।
त्यसक्रममा नेपालगन्जबाट निर्वाचित प्रदेश सांसद तथा कोहलपुर नगरपालिकाका मेयर र वडा अध्यक्षहरुले क्रिकेट मैदान निर्माणमा स्थानिय तह तयार रहेको बताएका थिए ।
यस्तै मन्त्री लिम्बुले नेपालजन्जमा निर्माण हुँदै गरेको सेन्थेटिक ट्रयाकको पनि निरिक्षण समेत गरेका छन । एघार करोड ६६ लाख बजेटबाट निर्माण हुँदै गरेको ट्याकमा हाल बेसको काम भईरहेको इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए ।
आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरि सम्झौता भएपनि चिसो मौसमा पीचको काम गर्न अप्ठेरो पर्ने भएकाले बैशाखसम्म काम सकिने बताईएको छ । निरिक्षणका क्रममा सदस्य सचिव टंकलाल घिसिङले निर्धारित समय भित्र काम सक्न निर्माण कम्पनीलाई निर्दशन दिए ।
२२ मंसिर २०८०, शुक्रबार १२:३० प्रकाशित