सडक दुर्घटनाबाट बाँकेमा साढे चार महिनामा २४ जनाको मृत्यु
  • काँचुली खबर

फाईल तस्बिर ।

२१ मंसिर, नेपालगन्ज । बाँकेमा साढे चार महिना यता सडक दुर्घटनामा परी २४ जनाले ज्यान गुमाएका छन । जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार विगतको तुलामा सडक दुर्घटनामा वृद्धि हुँदैगएको छ । जसबाट गत साढे चार महिनामा २४ जनाले ज्यान गुमाएका छन् भने ६० जना घाइते भएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि मंसिर १० गतेसम्मको साढे चार महिनाको अवधिमा बाँकेमा ५७ वटा सवारी दुर्घटना भएकोमा २४ जनाको मृत्यु भएको हो ।

घाइतेमध्ये ४२ जना गम्भीर घाइते भएकाले उनीहरूमध्ये केहीको अझै पनि उपचार भइरहेको जनाइएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले मादक पदार्थ सेवन, लापरबाही र तीव्र गतिका कारण सवारी दुर्घटना बढ्दैगएको जनाउँदै अनाहकमा निर्दोषको ज्यान जाने गरेको बताए ।

उनले दुर्घटनाका यी तीन कारणमध्ये सबैभन्दा बढी दुर्घटना मादक पदार्थ सेवनका कारण भएको अनुसन्धानबाट खुलेको बताए । प्रमुख सुवेदीले भने, ‘चालू आर्थिक वर्षमा भएका दुर्घटनाको तथ्याङ्क र गतवर्ष यही समयावधिमा भएको दुर्घटनाको तथ्याङ्क केलाउँदा सङ्ख्यात्मक हिसाबले केही घटेको छ, तथापि ५७ वटा दुर्घटनामा ८१ वटा सवारीसाधनबाट २४ जनाले ज्यान गुमाउनुभएको छ ।’

जिल्ला ट्राफिक कार्यालयका अनुसार दुर्घटनामा ठुला सवारी साधनभन्दा पनि मोटरसाइकल र अटोरिक्सा बढी परेका छन् । मुख्य राजमार्ग क्षेत्रभन्दा पनि ग्रामीण र भित्री सडकमा दुर्घटना बढी भएको पाइएको छ ।

भित्री सडकमा मोटरसाइकल र अटोरिक्सा बढी चल्ने भएकाले ठुला सवारी साधनभन्दा पनि साना सवारी साधनले दुर्घटनाको सङ्ख्या बढाएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक सुवेदीले बताए ।

उनले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले १२ महिना नै निरन्तर विभिन्न सचेतनाका कार्यक्रम गर्दैआएको जनाउँदै तर पनि दुर्घटना बढ्दै गएको चिन्ता व्यक्त गए ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार बाँकेमा चालू आर्थिक वर्षको हालसम्म ६४१ वटा सचेतिकरणसम्वन्धी कार्यक्रम गरिएको छ । सो क्रममा विद्यार्थी, चालक, सहचालकदेखि सडक प्रयोग गर्ने आम नागरिकलाई समेत ट्राफिक नियमबारे सचेत बनाउने कार्यक्रम सञ्चालन गरिएको छ ।

दुर्घटना घटाउने काम कुनै एक निकायले मात्र गरेर नहुने जनाउँदै त्यसका लागि सरोकार राख्ने सबै निकायको उत्तिकै भूमिका हुनु जरुरी रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

गोरखापत्रबाट

  • २१ मंसिर २०८०, बिहीबार १७:२८ प्रकाशित
  • Nabintech