पञ्चेबाजा संरक्षणमा जुटे बाँकेका महिलाहरू हरू
  • काँचुली खबर

१६ मंसिर, काेहलपुर । बाँकेका महिलाहरू समूह बनाएर पञ्चेबाजाको संरक्षण गर्दै व्यावसायिक रूपमा आयआर्जनमा जुटेका छन् । राप्तीसोनारी गाउँपालिका-८ की दीपा बस्नेतले गाउँका दिदीबहिनीहरूको समूह बनाएर पञ्चेबाजालाई व्यावसायिक रूपमा सञ्चालन गरी आयआर्जन गर्दै संरक्षण समेत गर्दै आएको बताए ।

व्यावसायिक रूपले नै पञ्चेबाजा बजाउन सुरु गरेपछि सिजनका बेलामा बिहेबारी तथा मेला महोत्सवमा बाजा बजाउन भ्याइनभ्याई भएको उनको भनाइ छ । ‘महिला पञ्चेबाजा समूह’ मार्फत् आफू मात्र नभएर गाउँका अरू महिलाहरूले पनि संयुक्त रूपमा पञ्चेबाजा बजाउने गरेको दीपाले बताईन । “हिजोआज त फुर्सद निकाल्नै मुस्किल पर्छ” आफ्नो व्यस्तताबारे सुनाउँदै दीपाले भनिन, “एकातिर लोपोन्मुख बाजाको पनि संरक्षण हुने अर्कोतर्फ आयआर्जनमा पनि टेवा पुग्ने भएकाले यो पेसा राम्रै भएको छ ।”

उनी मात्र होइन भीमा विष्ट पनि पञ्चेबाजाको टोलीमा सहभागी हुने गरेकी छन । उनले बाजा बजाउन थालेको दुई वर्ष भयो । दीपा, भीमामात्र नभएर यो समूहमा मैसरी खत्री, हिरा डाँगी, अमृता सुनार, वीरमा घर्ती, सुशीला खड्का पवित्रा खड्का, दिलमाया विष्टसहित २० जना महिला दिदीबहिनी आबद्ध छन।

सुरुसुरुमा महिलाहरूले पञ्चेबाजा बजाउँछन् भनेको सुन्दा गाउँमा खिसीटिउरी गर्नेहरू हिजोआज भने उनीहरू आफैँले बिहेवारी तथा मेला महोत्सवमा बोलाउने गरेको सुनाउँछिन दीपा । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले बाजा बजाउँदै समूहमा हिँड्न थालेको दीपाले बताईन । “महिला भए भन्दैमा दबिएर पिल्सिएर बस्नु पर्छ भन्ने होइन । आँट, साहस र आत्मबल जुटाउने हो। सीप सिकेर अगाडि बढ्न सकियो भने असम्भव केही छैन, पुरुषले गर्ने काम हामी महिलाले पनि गर्न सक्छौँ,” उनले भनिन । विवाह तथा मेला महोत्सवमा पञ्चेबाजाको माग बढ्न थालेपछि सदरमुकाम नेपालगन्जमा पनि पुग्ने गरेको उनले बताईन ।

पुरुषले बाजा बजाउने चलन पहिलेदेखि चलिआए पनि ग्रामीण भेगमा महिलाले व्यावसायिक रूपमा यो पेसा गर्न थालेको भने केही वर्षदेखि मात्र हो । राप्तीसोनारी गाउँपालिकाका यी महिलाले यसलाई व्यावसायिक रूपमा अगाडि बढाएका मात्रै छैनन् आम्दानीको राम्रो स्रोत समेत बनाएका छन् ।

पञ्चेबाजा समूह सदस्य दीपाले आफूहरूले पञ्चेबाजा बजाएर गत वर्ष १ लाख ५० हजार रुपियाँ आम्दानी गर्न सफल भएको बताईन । यस वर्ष पनि मङ्सिरको आधा सम्म करिब ५० हजार जम्मा भैसकेको उनको भनाइ छ ।

पश्चिमेली संस्कृतिको प्रभाव र युवा पुस्ताले चासो नदिँदा पञ्चेबाजा लोप हुने अवस्थामा छ । तर राप्तीसोनारी गाउँपालिका-८ र ९ का महिला भने यसको संरक्षणका लागि समूह बनाएर जुटेका छन । उनीहरूलाई बाँके राष्ट्रिय निकुञ्जको मध्य विन्दु उपभोक्ता समितिले तालिम तथा बाजाको व्यवस्थापन गरेर सहयोग गरेको समितिका अध्यक्ष हर्कबहादुर विष्टले बताए । राप्तीसोनारी गाउँपालिका वडा नं.९ ले पनि पञ्चेबाजाको संरक्षणका लागि महिलालाई सीप सिकाएको उनको भनाइ छ ।

सीपसँगै गाउँपालिकाले व्यावसायिक बनाउनका लागि पञ्चेबाजा समेत सहयोग गरिएको राप्तीसोनारी गाउँपालिका वडा नं.९ का वडाध्यक्ष सोहनलाल थारुले बताए ।

गाउँपालिकाले पनि स्थानीय कला संस्कृति संरक्षणमा जोड दिएको पालिका अध्यक्ष तप्पबहादुर पौडेलले बताए । “स्थानीय कला संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा पालिकाले बर्सेनि लगानी गर्दै आएको छ,” उनले भने, “महिलाहरूले थालेको यो अभियानमा पनि हाम्रो साथ र सहयोग रहन्छ ।”

विभिन्न धर्म तथा समुदायका कला संस्कृतिलाई जोड्दै पालिकाको पहिचानका रूपमा लैजाने नीति पालिकाको रहेको उनले बताए । “राप्तीसोनारी गाउँपालिका कला र संस्कृतिले भरिएको पालिका पनि हो,” उनले भने, “थारु समुदायको आफ्नै कला र संस्कृति छ । रुकुमेली, सल्यानीहरुको आफ्नै मौलिकता बोकेको कला संस्कृति छ । यो नै हाम्रो पालिकाको विविधताभित्रको सांस्कृतिक एकता र पहिचान हो ।” पहिचानसँग जोडिएका कला संस्कृति संरक्षणका लागि यसको पुस्तान्तरण जरुरी रहेको पनि उनले बताए

गाेरखापत्रबाट

  • १६ मंसिर २०८०, शनिबार ११:५१ प्रकाशित
  • Nabintech