नेपालगन्जमा रातो नम्बर प्लेटका इ-रिक्सा गुड्न नपाउने
  • काँचुली खबर

१० मंसिर, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका भित्र यात्रु बोक्ने रातो नम्बर प्लेटका इ-रिक्सा मङ्सिर २३ गतेदेखि गुड्न नपाउने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई कालो बनाउन मङ्सिर २२ गतेसम्मको समय दिने निर्णय गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ-रिक्सा रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कात्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातोलाई कालो नम्बरप्लेट बनाउन दिने निर्णय गरेको थियो । उक्त अवधि मङ्सिर १५ गते समाप्त हुने भए पनि थप ७ दिन समय दिएर मङ्सिर २३ गतेदेखि भने रातो नम्बर प्लेटलाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

“समय त मङ्सिर १५ सम्म मात्र दिइएको हो, त्यसपछिको एक हप्ताको समयमा हामी फिल्डमै उत्रिएर रिक्सा चालकलाई सचेत बनाउँछौँ, मङ्सिर २३ देखि भने चल्न दिँदैनौँ” नगर प्रमुख विष्टले भने ।

अटेर गरेर रातो नम्बर प्लेटका इ-रिक्सामा यात्रु बोके त्यस्ता रिक्सालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी व्यायामशाला धम्बोझी र विधि विज्ञान प्रयोगशाला गणेशमान चोकमा होल्डिङ्ग गरेर राखिनेछ । कालो नबनाउँदासम्म इ-रिक्सा होल्डिङ्ग सेन्टरमै रहने नेपालगन्ज उपमहानगरपालिका राजस्व शाखा प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

यस्तै, नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बढ्दो सवारी साधनको चापलाई मध्यनजर गर्दै हाललाई त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म चार पाङ्ग्रे सवारी साधन चल्न नदिने र गणेशमान चोकदेखि चारवाहिनी चोकतर्फको सडकलाई पनि वन-वे बनाउने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

बैठकमा नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामी, यातायात व्यवस्था कार्यालय प्रमुख माधव ज्ञवाली, नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठ, बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी, ट्राफिक प्रहरी प्रमुख गोपीकृष्ण सुवेदी, वडा प्रहरी प्रमुख हरिबहादुर बिसी, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

  • १० मंसिर २०८०, आईतवार १२:४७ प्रकाशित
  • Nabintech