काँचुली खबर
६ मंसिर, काठमाण्डौं । संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नगरी सांसदको रूपमा महिनाभरको तलब पचाएका छन् ।
प्रतिनिधि सभाको बर्खे (बजेट अधिवेशन) चलेको ७ महिनामध्ये २०८० वैशाख र असोज महिनामा देउवा एउटै बैठकमा पनि उपस्थित भएनन् । संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको हाजिरी विवरणअनुसार वैशाख महिनामा ४ र असोज महिनामा ८ वटा बैठक बसेका थिए ।
अधिवेशन चलेका अन्य महिनामा पनि देउवा निकै कम बैठकमा मात्र उपस्थित भएका छन् । वैशाख २४ गते शुरू भई कात्तिक १६ गतेसम्म चलेको अधिवेशनअन्तर्गत ६२ दिनमा ६५ पटक बैठक बसेको थियो ।
६२ मध्ये देउवा १६ दिनका बैठकमा मात्र उपस्थित भएका छन् । २० दिन बैठक बसेको जेठ महिनामा ७, असार, साउन र भदौ महिनामा २-२ तथा कात्तिक महिनामा ३ दिनको बैठकमा उपस्थित भएका छन् ।
देउवाले जेठ ३० गतेदेखि असार ६ गतेसम्म अनुपस्थितिको सूचना दिएका थिए । वैशाख र असोज महिनामा उनले एकै दिन पनि उपस्थित नभई तलब बुझेका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असोज महिनामा एकदिन पनि हाजिरी गरेका छैनन् । नेपालले अनुपस्थितिको सूचना पनि दिएका छैनन् ।
अधिवेशन चलेका ६२ मध्ये ३८ दिनका बैठकमा उपस्थित भएका नेपाल जेठ महिनामा १४, असारमा १२ बैठकमा उपस्थित भएका थिए ।
वैशाख र कात्तिकका सबै बैठकमा नेपाल उपस्थित भएका छन् । असोज महिनामा एक दिन पनि उपस्थित नभए पनि उनको खातामा पैसा गएको संसद् सचिवालयका एक अधिकारीले लोकान्तरलाई बताए ।
नयाँ दल रास्वपाका स्वर्णिम वाग्ले, शिशिर खनाल र मनिष झा पनि विनासूचना महिनाभर अनुपस्थित भएर तलब बुझ्ने सांसद हुन् । वाग्ले भदौ, खनाल कात्तिक र झा वैशाखमा विनासूचना अनुपस्थित रहे ।
प्रतिनिधि सभाका ३ दर्जन बढी सांसदले महिनामा एकै दिन पनि हाजिरी नगरी तलब भत्ता पचाएका छन् । सूचना नदिई अनुपस्थित हुने तथा मन्त्री नरहेका यस्ता सांसदको संख्या ३७ छ ।
अधिवेशन शुरू भएको पहिलो महिना वैशाखमा कांग्रेस सहमहामन्त्री समेत रहेका किशोरसिंह राठौर अनुपस्थित रहे । वैशाख महिनामा १८, साउन महिनामा २, भदौमा २, असोजमा ५ र कात्तिकमा ११ जना सांसदले महिनामा एकदिन पनि हाजिरी नगरी संसद् सचिवालयबाट तलब भत्ता बुझेका छन् ।
वैशाख महिनामा अजयकुमार चौरसिया, किशोरसिंह राठौर, डिल्लीराज पन्त, पूर्णबहादुर घर्ती मगर, वर्षमान पुन, भानुभक्त जोशी, मनिष झा, मनोरमा शेरचन, योगेन्द्र मण्डल, राजकुमार गुप्ता, राजेन्द्र पाण्डे, लालप्रसाद सावा लिम्बू, लीला बोखिम लिम्बू, शेरबहादुर देउवा, सन्तोष चालिसे, सरस्वती सुब्बालगायत सूचना नदिई अनुपस्थित रहेका छन् ।
माओवादी उप-महासचिव समेत रहेका पुनः बिरामी परेका कारण अनुपस्थित थिए । कांग्रेसकी मनोरमा शेरचन पनि अस्वस्थताका कारण उपस्थित भएकी छैनन् ।
जेठ महिनामा किशोरसिंह राठौर, वर्षमान पुन, विनाकुमारी थनैत र मनोरमा शेरचन सूचना दिएर अनुपस्थित रहेका छन् । पुन, राठौर र शेरचन वैशाख महिनामा भने सूचना नदिई अनुपस्थित भएका थिए । असार महिनामा विनाकुमारी थनैत र विष्णुकुमार कार्की सूचना दिएर अनुपस्थित थिए ।
साउन महिनामा ८ जना अनुपस्थित रहेकोमा ३ जनाले मात्र सूचना दिएका छन् । सूचना दिएकामा दीपक खड्का, मनोरमा शेरचन र विष्णुकुमार कार्की छन् । सूचना नदिई अनुपस्थित हुनेमा योगेन्द्र मण्डल र योगेश गौचन थकाली छन् । थकाली मुस्ताङबाट निर्वाचित कांग्रेसका युवा सांसद हुन् ।
भदौ महिनामा ३ जना सांसद अनुपस्थित छन् । मनोरमा शेरचनले सूचना दिए पनि रास्वपाका स्वर्णिम वाग्ले र कांग्रेसका किशोरसिंह राठौरले जानकारी नगराई अनुपस्थित भएको संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ । भदौ महिनामा ७ दिन प्रतिनिधिसभाको बैठक बसेका थिए ।
कांग्रेस सह-महामन्त्री राठौरले आफू बिरामी भएका कारण लगातार उपस्थित हुन नसकेको बताए । ‘म अस्वस्थ भएर बैठकमा नियमित उपस्थित हुन सकेको छैन,’ राठौरले भने ।
असोज महिनामा ९ जना अनुपस्थित रहेकोमा ४ जनाले सूचना दिएका छन् भने ५ जना विनासूचना अनुपस्थित भएका छन् । डा. चन्दा कार्की भण्डारी, मनोरमा शेरचन, मंगलप्रसाद गुप्ता र विनोद चौधरी जानकारी गराएर अनुपस्थित भएका छन् । उपसभामुख इन्दिरा राना, दामोदर भण्डारी, नवलकिशोर साह सूडी, माधवकुमार नेपाल र शेरबहादुर देउवाले सूचना समेत दिएका छैनन् ।
कात्तिक महिनामा सांसद अम्बरबहादुर थापा, अमृतादेवी अग्रहरी, ईश्वरी देवी न्यौपाने, कालुराम राई, गंगाराम चौधरी, दिनेशकुमार यादव, महेश बस्नेत, माया राई, मेनकाकुमारी पोखरेल, राजु थापा, शिशिर खनाललगायत ११ जना सांसद सूचना नदिई अनुपस्थित भएका छन् ।
असिम साह, डा. चन्दा कार्की भण्डारी, ध्रुवबहादुर प्रधान, विना कुमारी थनैत, मनोरमा शेरचन, मंगलप्रसाद गुप्ता, विराजभक्त श्रेष्ठ, डा. सुनिलकुमार शर्माले अनुपस्थितिको सूचना दिएका थिए । सूचना दिएर अनुपस्थित हुनेको जानकारी सभामुखले अधिवेशन अन्त्यको दिनमा गराउने गरेका छन् । विनासूचना लगातार १० बैठकमा अनुपस्थित हुने सांसदको पद जाने संविधानको धारा ८९ (घ) मा उल्लेख छ ।
शीर्षमा ओलीको उपस्थिति बढ्यो, प्रचण्डको खस्कियो
प्रतिनिधि सभाको दोस्रो ठूलो दल एवं विपक्षी दलका नेता केपी शर्मा ओली ४४ दिन संसद्मा उपस्थित भएका छन् । जेठमा सबैभन्दा धेरै १५ दिन उपस्थित भएका ओली साउन महिनामा भने जम्मा १ दिन उपस्थित भएका छन् ।
असारमा १२, भदौमा ५, वैशाख र असोजमा समान ४ दिन उनी उपस्थित भएका छन् । प्रमुख प्रतिपक्षी दलको नेतालाई संसद् सचिवालयले अतिरिक्त सुविधा समेत दिने गरेको छ ।
प्रतिनिधि सभाको तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २५ दिन संसद्मा उपस्थित भएका छन् । जेठ महिनामा १२ दिन उपस्थित भएका प्रचण्ड वैशाख र कात्तिकमा एक एक दिन मात्र उपस्थित भएका छन् भने साउनमा एक दिन पनि उपस्थित भएनन् ।
प्रधानमन्त्री र सरकारका मन्त्रीलाई संसद्मा उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था छैन । तर, संसद्बाट निर्वाचित प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भएकाले दैनिक उपस्थित हुनुपर्ने जानकारहरू बताउँछन् ।
प्रतिनिधि सभाको चौथो ठूलो दल रास्वपाका सभापति रवि लामिछाने ५२ दिनको बैठकमा उपस्थित भएका छन् । वैशाख १० गतेको उपनिर्वाचनबाट निर्वाचित लामिछाने संसद्को बजेट अधिवेशनका अधिकांश बैठकमा उपस्थित भएका हुन् । जेठ महिनामा २० मध्ये १८ दिनको बैठकमा उपस्थित भएका लामिछाने असारमा १३ बैठकमा उपस्थित भएका छन् । असार ५ र २० गते उनले अनुपस्थितिको सूचना दिएका थिए ।
पाँचौं ठूलो दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ४४ दिनका बैठकमा हाजिर भएका छन् । जेठ महिनामा १६ दिन संसद्मा उपस्थित भएका लिङ्देन कात्तिकमा १ दिन मात्र उपस्थित भए । उनले भदौ ५ देखि १२ गतेसम्म अनुपस्थितिको सूचना दिएका थिए ।
उपनिर्वाचनबाट प्रतिनिधि सभामा आएका जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव ४० दिनका बैठकमा उपस्थित भएका छन् ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ३६ दिनका बैठकमा उपस्थित भएका छन् भने लोसपा अध्यक्ष महन्थ ठाकुर ५२ दिनका बैठकमा उपस्थित भएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ५६ दिनका बैठकमा उपस्थित भएका छन् ।
गगन थापा ५० प्रतिशतभन्दा कम उपस्थित, अन्य नेताको उपस्थिति कस्तो ?
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ६२ मध्ये २९ दिनको बैठकमा मात्र उपस्थित भएका छन् ।
संसद्को शून्य समय, विशेष समय र विधायिकी कार्यमा समेत सहभागिता जनाउने महामन्त्री थापाको उपस्थिति भने कमजोर देखिएको छ । उनको उपस्थिति ५० प्रतिशतभन्दा कम हो । जेठ महिनामा ९ दिनको बैठकमा उपस्थित थापा असार र असोजमा पाँच-पाँच दिन, साउन र भदौमा चार-चार दिन तथा वैशाख र कात्तिक महिनामा एक-एक दिन उपस्थित भएका छन् । साउन १२ देखि २३ गतेसम्म बिदा स्वीकृत गराएर उनी अनुपस्थित भएका थिए ।
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा ४२ दिनका बैठकमा उपस्थित भएका छन् । जेठ महिनामा १८ र असारमा ९ दिनका बैठकमा उपस्थित भएका शर्मा साउनमा ५ दिन उपस्थित भएका छन् । अधिवेशन शुरू भएको वैशाख महिनामा बसेका ४ दिनकै बैठकमा शर्मा उपस्थित थिए ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ५६ दिनका बैठकमा उपस्थित भएका छन् । वैशाख, असोज र कात्तिक महिनाका सबै बैठकमा उपस्थित भएका पौडेल जेठमा १८ र असारमा १४ दिन संसदमा उपस्थित भएका छन् । नेकपा एमालेका तर्फबाट संसदीय मोर्चा पौडेलले सम्हालेका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला ४२ दिनका बैठकमा उपस्थित भएका छन् । जेठ महिनामा १८ र असोज महिनामा ६ दिनका बैठकमा कोइरालाको उपस्थिति देखिन्छ ।
कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री समेत रहेका कांग्रेस उपसभापति धनराज गुरुङ ४९ दिनको बैठकमा उपस्थित भएका छन् । कांग्रेसका पूर्व महामन्त्री समेत रहेका नेता डा. शशांक कोइराला पनि प्रतिनिधि सभाका अधिकांश बैठकमा उपस्थित छन् । वैशाख र जेठ महिनाका सबै बैठकमा उनी उपस्थित भएका थिए ।
नेकपा एमालेका गोकुल बास्कोटा, विद्या भट्टराई, सूर्य थापा, अच्युत मैनाली लगायतका सांसद संसद्मा धेरै दिन उपस्थित हुने सांसदमा पर्दछन् ।
नेपाली कांग्रेसका प्रदीप पौडेल, रामकृष्ण यादव, रामहरि खतिवडा, माओवादी केन्द्रका माधव सापकोटा र रास्वपाकी सुमना श्रेष्ठ पनि संसद्मा धेरै उपस्थित हुने तथा संसदीय गतिविधिमा भाग लिने सांसद हुन् ।
युवा सांसदको उपस्थिति
नयाँ पुस्ताका सांसदहरूले आफ्नो उपस्थिति बढाएका छन्, तर सबै बैठकमा उपस्थित हुनुपर्ने दायित्व भने पूरा गरेका छैनन् । ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित रास्वपा सांसद डा. तोसिमा कार्की ५१ दिनको बैठकमा उपस्थित भएकी छिन् ।
राजधानी काठमाडौं उपत्यकाकै सांसद भए पनि उनी बजेट अधिवेशनका ११ बैठकमा अनुपस्थित रहिन् । उनले असार २५ गतेका लागि र भदौ ३ देखि १२ तथा २१ गतेका लागि बिदा स्वीकृत गराएकी छिन् । यस्तै असोज १३ देखि २१ गतेसम्मका लागि पनि उनले अनुपस्थितिको जानकारी संसद् सचिवालयलाई गराएकी थिइन् ।
काठमाडौं २ बाट निर्वाचित रास्वपा सांसद सोविता गौतम ४८ दिनको बैठकमा उपस्थित भएकी छिन् । बजेट अधिवेशनका १३ दिनको बैठकमा उनी अनुपस्थित भएको संसद् सचिवालयको तथ्यांकले देखाएको छ । उनले साउन २९ देखि भदौ ५, असोज १६ देखि १९ तथा २१ देखि २२ गतेसम्म बिदा स्वीकृत गराएकी थिइन् ।
ठूला दलका नेतालाई गाली गरेर उदाएका राप्रपाका सांसद ज्ञानबहादुर शाही ४७ दिनका बैठकमा उपस्थित भएका छन् । जुम्लाबाट प्रत्यक्ष निर्वाचित शाहीले जेठ ३१ देखि असार १६ गतेसम्म बिदा स्वीकृत गराएका छन् । रास्वपाकी निशा डाँगी पनि धेरै उपस्थित हुने सांसदमा पर्छिन् । वैशाख र जेठ महिनाका सबै बैठकमा उनी उपस्थित थिइन् ।
नेकपा एमालेको विद्यार्थी संगठन अखिलको अध्यक्ष छँदै सांसद बनेकी सुनिता बराल ५२ वटा बैठकमा उपस्थित भएकी छन् ।
सर्वाधिक अनुपस्थित रहने सांसदहरू
नेकपा एमालेबाट निर्वाचित टोपबहादुर रायमाझी र लक्ष्मी महतो कोइरी तथा नेपाली कांग्रेसका टेकबहादुर गुरुङसहित प्रतिनिधि सभाका ४ सांसद निलम्बित छन् ।
निलम्बित सांसदले प्रतिनिधि सभा बैठकमा उपस्थित हुन पाउँदैनन्, उनीहरूको सेवा सुविधा समेत रोक्का छ ।
नेपाली कांग्रेसकी समानुपातिक सांसद मनोरमा शेरचन प्रतिनिधिसभाको बैठकमा उपस्थित भएकी छैनन् । अस्वस्थताको कारण देखाउँदै उनले संसद्मा लगातार अनुपस्थितिको सूचना दिएर सांसद पद जोगाएकी छन् । संसद्को एउटै बैठकमा उपस्थित हुन नसक्ने व्यक्तिलाई सांसद बनाइएकोमा कांग्रेसभित्रै असन्तुष्टि छ ।
सहमहामन्त्री किशोरसिंह राठौर पनि संसद्मा कम उपस्थित हुने सांसदमा पर्छन् । बाँके ३ बाट प्रत्यक्ष निर्वाचित राठौर वैशाख र जेठ महिनाको एउटै बैठकमा उपस्थित भएनन् ।
असार महिनाका केही बैठकमा उपस्थित उनी भदौ महिनामा पनि एउटै बैठकमा उपस्थित भएका छैनन् ।
ग्यास सिलिन्डर विस्फोटका कारण लामो समय भारतमा उपचार गराएका कांग्रेस सांसद डा. चन्द्र भण्डारी शुरूमा अनुपस्थित रहे पनि पछिल्लो समय संसद्मा उपस्थित भएर बोल्न थालेका छन् ।
सांसदहरू अञ्जनी श्रेष्ठ र अम्बिका बस्नेत यो अधिवेशनका सबै बैठकमा उपस्थित भएका छन् ।
सबै बैठकमा उपस्थित भएकी सांसद अम्बिका बस्नेतले सदनमा उपस्थिति आफ्नो प्रथम दायित्व भएको बताइन् ।
‘हामी सांसद भएपछि संसद् बैठकमा नगए अरू के गर्ने ? संसद् बैठक रहेको दिनमा म नियमित उपस्थित हुने गरेकी छु,’ बस्नेतले लोकान्तरसँग भनिन् ।
‘हाजिरी नगरी तलब खानु भ्रष्टाचारसरह’
संसदीय खुलापनको वकालत गर्दै आएका फ्रीडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल महिनामा एक दिन पनि हाजिरी नगरी महिना भरको तलब खानु भ्रष्टाचारसरह भएको बताउँछन् । यस्ता सांसदलाई तलब दिने संसद् सचिवालयको प्रशासनिक क्षमता समेत कमजोर देखिएको टिप्पणी उनले गरे ।
‘जनताबाट निर्वाचित भएर आएको सांसद संसद् बैठकमा अनुपस्थित हुनु राजनीतिक दायित्व र कर्तव्य पूरा गर्न नसकेको प्रस्ट भयो, वैधताको प्रश्न उठ्यो । कामै नगरी तलब र सुविधा खानु भ्रष्टाचार हो,’ दाहालले भने, ‘सांसदको गैरजिम्मेवार प्रवृत्तिलाई प्रोत्साहन गर्दा संसद् सचिवालयको क्षमतामाथि पनि प्रश्न उठ्ने देखियो ।’
संसद् र संसदीय कारबाहीलाई केन्द्रमा नराखेर संसदीय व्यवस्थाको वकालत गर्नुको औचित्य नहुने दाहालको बुझाइ छ ।
‘संसदीय व्यवस्था प्रभावहीन बन्यो, लोकतन्त्र संकटमा पर्यो भन्ने तर, संसद्को प्रभावकारिताका लागि आफ्नो काम नगर्ने प्रवृत्ति संविधानलाई धोका दिने खालको भयो,’ दाहालले भने, ‘तोकेको भूमिका पूरा नगर्ने सांसदलाई आममतदाता र तिनका समर्थकले पनि प्रश्न उठाउनुपर्छ ।’
लोकान्तरबाट