१७ असोज, कोहलपुर । नेपाल पत्रकार महासंघ बाँकेले संयमित भएर सुचना प्रवाह गर्न संचारकर्मीहरुलाई अपिल गरेको छ । महासंघ बाँकेका सचिव कमल डाँगीले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै संकटको समयमा सबै संयमित हुनुपर्ने भन्दै आधिकारीक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरेका हुन ।
संकटको समयमा सिर्जना हुने भ्रम झनै खतरा हुने भएकोले त्यस्ता भ्रमलाई चिर्नका लागि सत्यतथ्य सूचना संकलन गरी प्रकाशन/प्रसारण गर्नु पत्रकारको कर्तव्य भएको भन्दै हतारमा समाचार सम्प्रेषण गर्न महासंघले आग्रह गरेको हो ।
पत्रकार आचारसंहितामा उल्लेख भएको “विभिन्न जात जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्न हुँदैन” भन्ने विषयलाई ध्यान दिन आग्रह गर्दै विज्ञप्तीमा सुरक्षित रुपमा पत्रकार आचारसंहिताको पालना गर्दै संचारकर्म गर्न आग्रह गरीएको छ । साथै रिर्पोटिङका क्रममा सुरक्षाकर्मीले सोधपुछ गरेमा सहजरूपमा विवरण टिपाउन समेत पत्रकारहरुलाई आग्रह गरीएको छ ।
“नेपालगन्जमा सिर्जना भएको तनाव फेरी हुन नदिन यस्ता घटनाको कारण खोजी गरी आमनागरिक समक्ष सत्यतथ्य समाचार सम्प्रेशण गर्ने र राज्यका निकायलाई जवाफदेही बनाउने दायित्व र जिम्मेवारी संचारक्षेत्रको हो । यसरी आचारसंहिताभित्र रही सत्यतथ्य समाचार सम्प्रेशन गर्ने क्रममा कँहीकतैबाट कुनै पनि बहानामा अवरोध उत्पन्न भए नेपाल पत्रकार महासंघ बाँकेमा तत्काल जानकारी दिन सम्पूर्ण संचारकर्मीहरुलाई आग्रह गर्दछौं ।” बिज्ञप्तीमा भनिएको छ ।
महासंघ बाँकेले पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा कुनै पनि खालको सम्झौता नगर्ने तथ्य दोहार्याउँदै नागरिकलाई सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई स्वतन्त्र र निर्भिकताकासाथ काम गर्ने वातावरण निर्माण गर्न समेत सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
नेपालगन्जको सद्भाव, आपसी भाईचारा अरुका लागि पनि उदाहरणका रुपमा रहेको उल्लेख गर्दै महासंघ बाँकेले आपसी एकताकालागी अग्रसर हुन सबैलाई अपिल गरेको छ । धार्मिक सद्भाव कायम राख्न सबै संयमित हुनुपर्ने भन्दै महासंघले नेपालगन्जलाई पुरानै अवस्थामा फर्काउन सबै पक्ष अग्रसर हुनुपर्ने उल्लेख गरेको छ ।
१७ आश्विन २०८०, बुधबार १३:३६ प्रकाशित