४ असोज, कपिलवस्तु । नेकपा माओवादी केन्द्रको तीनमहिने रुपान्तरण अभियान अन्तर्गत श्रमदान गरी विपन्नको घर निर्माण गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ९ रमुवादहमा ढिकरु थारुको घर निर्माण गरिएको हो ।
विपन्न र सुस्त मनस्थिति रहेका थारु दम्पती बस्दै आएको घरको निर्माणको लागि श्रमशिविर सञ्चालन गरिएको पार्टी शिवराज नगर अध्यक्ष चिन्ता परियारले बताए । उनको घरको भित्ता भ्वाङ परेको र टिनको छानो चुहिने अवस्थामा रहेको थियो । यस बाहेक पनि अभियान अन्तर्गत टोलटोलमा सामाजिक विकासका काम गर्ने बताइएको छ ।
पार्टीको अभियानसँगै जनताको पीरमर्का र समस्यालाई समाधान गर्न जनतासँगै काम गर्नुका लागि कार्यकर्तालाई निर्देशन दिएको जिल्ला संयोजक विष्णु बेल्वासेले बताए । अभियानका क्रममा सरसफाइ, वृक्षरोपण, सिँचाइका नाला, पानीका मुहान आसपास सरसफाइ, योग शिविर जस्ता कार्यक्रम गर्ने योजना गरिएको छ ।
४ आश्विन २०८०, बिहीबार १३:१९ प्रकाशित