पेशागत मर्यादा विपरित टिकाटिप्पणी नगर्न महासंघ बाँकेको आग्रह
  • काँचुली खबर

२९ भदौ, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले सामाजिक सञ्जाल वा त्यससँग जोडिएका ग्रुपमा पेशागत मर्यादा विपरित हुने गरी टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेको छ । महासंघ बाँके शाखाका कार्यबाहक अध्यक्ष संगिन शर्माको अध्यक्षतामा बिहीबार बसेको बैठकले पेशागत जवाफदेहिताप्रति गम्भीर बन्न पनि सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

महासंघले नेपाल प्रहरीसँगको सहकार्यमा साईबर अपराध सम्बन्धी सचेतनाका विषयमा नेपालगन्ज र कोहलपुरमा पत्रकारका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । यस्तै शाखा उपाध्यक्ष करुणा शाहको संयोजकत्वमा कार्यसमिति सदस्य सावित्री गिरी र पवित्रा परियार सदस्य रहने गरी महिला विभाग गठन गरिएको सचिव कमल डाँगीले जानकारी दिएका छन् ।

साथै यही भदौ ३० गते बिहान ११ बजे विगतका वर्षझैं महासंघ परिसरमा तीजको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । महासंघ बाँके शाखाका पूर्वसभापति एवं प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त (चाचा जी) को ९५औं जन्मजयन्तीको अवसरमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गरेको छ ।

शाखाको २०७९ मा सम्पन्न साधारणसभाको घोषणापत्रमा समेत समेटिएको स्वर्गीय गुप्तको नाममा सडक र चोक नामाकरण गर्ने विषयलाई तत्काल कार्यान्वयनका लागि नेपालगन्ज उपमहानगरपालिका सहित सरोकारवाला पक्षसँग छलफल र सम्वाद गर्ने निर्णय गरिएको सचिव डाँगीले बताए ।

May be an image of text

  • २९ भाद्र २०८०, शुक्रबार ०८:५५ प्रकाशित
  • Nabintech