२३ भदौ, दाङ । बाँकेको शम्शेरगञ्जमा बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ ।
शुक्रबार राति कोहलपुरको शम्शेरगञ्जमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरूमा बर्दियाको ठाकुरबाबा-९ का ५० वर्षीय काँशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय रुपा परियार, जयन्ति थारु, ६५ वर्षीय साँधुराम थारु र वडानम्बर ८ का ४५ वर्षीय जुगबहादुर चन्द रहेका छन् ।
मृतक एक जनाको भने सनाखत नभएको प्रहरीले जनाएको छ । नाम र वतन नखुलेका करिब ३५ वर्षीय पुरुष गाडीका स्टाफ भएको प्रहरीले जानकरी दिएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् । उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये दुई जना गम्भीर रहेका छन् भने १२ जना मध्यम र १५ जना समान्य छन् ।
बसमा ४१ यात्रु रहेका थिए । त्यसमध्ये ५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
दाङबाट बर्दियातर्फ जाँदै गरेको ना७ख २३२१ नम्बरको बस बाँकेको शम्शेरगन्जमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर शुक्रबार राति दुर्घटना भएको हो ।
२३ भाद्र २०८०, शनिबार १२:१३ प्रकाशित