सर्पले लियो गर्भवतीको ज्यान, दुर्घटनामा २ जनाको मृत्यु
  • काँचुली खबर

११ भदौ, नेपालगन्ज । बाँकेमा भएका भिन्नाभिन्नै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लामा सर्पले टोकेर एक गर्भवती महिलाको मृत्यु भएको छ भने एक जना मृत अवस्थामा फेला छन । त्यसैगरी मोटरसाईकल दुर्घटनामा अर्को एक युवाले ज्यान गुमाएका छन ।

सर्पले टोकेर उपचारका क्रममा रहेकी एक महिलाको गत राती मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ स्थित लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँकी विद्यालय सहयोगी ३० वर्षीया सरिता चमारको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

भदौ ५ गते राति ओछ्यानमा सुतिरहेको अवस्थामा चमारलाई सर्पले टोकेको थियो । पाँच दिनपछि उपचारको क्रममा उनको आईतबार राती मृत्यु भएको हो ।

यसैबिच बाँकेको जानकी गाउँपालिका-५ स्थित रामगाउँको नालामा डुबेको अवस्थामा सोमबार एकजना मृत अवस्थामा फेला परेका छन् । दुई दिनदेखि घरबाट सम्पर्कविहीन भएका जानकी गाउँपालिका-४ निवासी ३५ वर्षीय शिवकुमार बर्मा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।

त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिका-१८ को भित्री गल्लीमा तीव्रगतिमा रहेको मोटरसाइकल छाडा पशु चौपायासँग ठोक्किँएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजापुरका ३६ वर्षीय प्रदीप थारु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिए ।

प्रहरीका अनुसार लु ८२ प ६४६८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा छाडा चौपायासँग ठोक्किएको थियो । उनको गएराति उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

-रासस

  • ११ भाद्र २०८०, सोमबार १८:२१ प्रकाशित
  • Nabintech