९ भदाै, नेपालगन्ज । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव मातृकाप्रसाद यादवले पछिल्लो समयमा माओवादीका नेताहरु जनतासँग डराउन थालेको बताएका छन । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीको विस्तारित वैठकलाई सम्बोधन गर्ने क्रममा शनिवार नेपालगन्जमा माओवादी नेता यादवले यस्तो बताएका हुन ।
माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज समेत रहेका केन्द्रीय उपमहासचिव यादवले नेताहरुले चुनाव जित्ने बेलामा जनताको मतले जित्ने, चुनाव जितेर पदमा पुगिसकेपछि जनतालाई बिर्सने गरेको बताए । ‘जनताले नै चुनाव जिताए, नेता बनाए, सांसद बनाए, मन्त्री बनाएर कुर्सीमा पुर्याए तर माओवादी नेताहरु अहिले जनता र कार्यकर्तासँग डराउन थालेका छन् । जनता र कार्यकर्ताले केही माग्छ कि ! कतै जागिर लगाइदे भन्छ कि भनेर !’ यादवले भने ।
नेता यादवले सर्वप्रथम नेता आफैबाट रुपान्तरण हुनुपर्ने बताए । नेताहरु अब सच्चिएर जनतासँगको समन्वय र सम्बन्ध सधै कायम राख्नु पर्ने बताउदै उनले माओवादी सधैभरी जनताप्रति समर्पित हुनुपर्नेमा जोड दिए । होटलमा कार्यक्रम राखेर नेताले भाषण गर्दैमा माओवादी रुपान्तरित नहुने भन्दै उनले जनताको घरमा जाने, जनताको घरमा बस्ने, जनताको घरमा खाने र जनताकै बिचमा कार्यक्रम गर्नुपर्ने बताए ।
‘हामीले कहिले एमालेसँग संगत गर्यौं, कहिले को सँग गर्यौं ? अहिले काङ्ग्रेससँग संगत गरेका छौँ, जोसँग संगत गरिन्छ फल उस्तै मिल्छ । अहिले हाम्रो जात छैन, हामीले हाम्रो जात बिर्सिएका छौँ ।’ उनले भने, ‘सर्वप्रथम हामी आफैबाट आत्मालोचना गरौं, हामी आफै सच्चिऔं र माओवादीको विचार तथा नीति लगेर जनतासम्म गाउँ गाउँ घर घर पुगौं ।’
नेकपा माओवादी केन्द्रले यहि भदौ १६ गतेदेखि देशैभर ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मूल नाराका साथ तीन महिने “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान” सञ्चालन गर्दैछ । त्यसैको तयारी स्वरूप नेपालगन्ज उपमहानगरपालिका कमिटीले शनिबार नेपालगन्जमा विस्तारित बैठकको आयोजना गरेको हो ।
९ भाद्र २०८०, शनिबार १५:५२ प्रकाशित