हुने बिरुवाको चिल्लो पात भन्ने नेपाली उखान हामि सबैले सानै देखी सुन्दै आएका छौं । अधिकांशले गाउँ घरमा बाल्यकालमा देखिएको लक्षण हेरेर नै ब्यक्तिको भविष्यबारे आकंलन गर्ने गर्छन । धेरै जसो मानिसहरुले बाल्यकाल देखि नै लाइनमा लागेर भविश्य सफल बनाएका पनि हुन्छन । आफ्नो चाहना अनुसार पेशा, ब्यबसाय देखि बिभिन्न क्षेत्रमा सफलता हासिल गरेका यस्तै सफल ब्यक्ति हाम्रो समाजकालागि समेत उदाहरणीय पत्र हुन्छ । ति मध्येका एक हुन, नेपालगन्जका सफल ब्यवसायी टंक बहादुर धामी । छोरालाई डाक्टर वा इन्जिनियर बनाउने घरपरीवारको सपना रहेपनि उनको रुची भने ब्यापार, ब्यवसायमा थियो । आफ्नै रुचि पछ्याउँदै पश्चिम नेपालकै सफल व्यवसायी बनेका धामी जीवनमा त्यतिबेला सबै भन्दा धेरै खुसि भए जब भारतको गुजरातमा वाचमेन काम गरेर उनले पहिलोपटक २५०० तलब बुझे ।
वि.स. २०३४ साल जेठ १८ गते सुदूरपश्चिमको दुर्गम जिल्ला अछामको विनायकमा बुवा दिल बहादुर धामी र आमा धनादेबी धामीको कोखबाट टंकबहादुर धामीको जन्म भएको थियो । पहाडी जिल्लाको उत्पादनले नपुग्ने भएपनि बुवा सरकारी जागिरे भएका कारण धामीको बाल्यकालमा आर्थिक अभाव झेल्नुपर्ने अवस्था भने आएन, तरपनि वर्षको आधा समय किनेरै खानुपर्ने बाध्यता रहेको उनि बताउँछन । बुबा शिक्षित भएकै कारण उनले गाउँकै बिद्यालयमा एस.एल.सी. पास गरे । विद्यामन्दिर मा.वि.बाट एस.एल.सी. पास गरेपछि धामी थप अध्धयनका लागि राजधानि काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा भर्ना भई आइ.ए. पास गरे ।
बाल्यकालमै व्यवसाय
धामीका बुवाको सोचाई छोरालाई इन्जिनियर नै बनाउने थियो, तर धामीको सोच भने व्यावसायी बन्ने थियो । कक्षा ८ देखि मंगलसेनमा रहेको मामा घरमा बस्दै गर्दा उनले आफ्नो व्यावसायिक जीवनको पहिलो यात्रा सुरु गरेका थिए । “८ कक्षादेखि मामा घरमा बस्न थालें, मामाको रेडिमेड फेन्सी पसल थियो”, उनले आफ्नो बाल्यकाल सम्झिदै भने, “मामासंगै व्यवसाय कसरि गर्ने भन्ने सिके, अनि भविष्यमा पनि आफ्नै व्यवसाय गर्छु भन्ने उद्देश्य लिएँ ।”
धामीको व्यवसायप्रतिको लगाव उनका परिवारलाई चित्त बुझेको थिएन । एस.एल.सी. पछी व्यवसाय गर्छु भन्ने प्रस्ताव घरमा गरेपछि उनका बुवाले पढाइका लागि राजधानी पठाईदिएका थिए । “व्यवसाय प्रतिको मेरो मोह देखेर बुबाले गालि गर्नुभयो, मलाइ छुटाऊनकै लागि मामाघरबाट काठमाडौं पढ्नका लागि पठाइदिनु भयो ।” धामिले भने । ‘खाने मुखलाई जुंगाले छेक्दैन’ भने जस्तै उनलाई अध्ययन गर्न राजधानी पठाएपनि धामीको व्यवसायप्रति मोह भने रोकिएन । २०५० सालमा काठमाडौं अध्ययनका लागि गएपछी बुबाले खर्च चलाउन पठाएको पैसाले नै धामीले नयाँ बानेश्वरमा खाद्यान्न व्यवसाय सुरु गरे ।
वाचमेन रुपमा भारतमा जागिर
आइ.ए. अध्ययन गर्दैगर्दा राजधानीमा उनको व्यवसाय मुस्किलले चलिरहेको थियो । नयाँ ठाउँ र लगानी पनि सानै भएकाले सफलता पाउन नसकेको धामीको भनाइ छ । त्यसबेला नेपालमा द्वन्द्व निकै चरम अवस्थामा थियो । वि.स. २०५९ सालमा उनि विकल्पको खोजिमा भारत छिरे । भारतको सुरतमा कम्पनीमा वाचमेनको रुपमा कम गरे । “त्यहाँ मलाइ महिनाको एक हजार आठसय रुपैया मासिक तलब दिन्थ्यो तर त्यतिले नपुग्ने भएपछी गाडी सफा गर्ने काम गरे”, उनले भने । धामीलाई गाडी सफा गरेवाफत एकसय रुपैया र मोटरसाइकल को पचास रुपैयाँ दिइन्थ्यो, सबैगरी उनको मासिक कमाइ जम्मा पाँच हजार भारतीय रुपैयाँ हुन्थो ।
व्यवसायी बन्ने सोचमा रहेका धामीलाई अरुको जागिर गरेर कमाएको पैसाले पुगेन । दुई वर्ष जति त्यो कम्पनीमा काम गरिसकेपछि उनले पुन हिरा कम्पनीमा काम गर्न सुरु गरे । त्यहाँ उनको कार्यक्षमता हेरेर नै केहि समयमै मासिक १५ हजार भारतीय रुपैयाँसम्म तलव दिन थालियाे । “इन्जिनियर बनाउछु भन्ने सपना पाल्नुभएका मेरा बुवामा भारतमा जागिर गर्न जाँदा निकै दु:खि हुनुभयो”, उनले भने, “मैले पनि आफ्नो बालापन देखिको व्यवसायी बन्ने सोच त्यागेको थिएन, त्यहाँ काम गरेर जम्मा गरेको पैसाले नै व्यवसाय गर्ने मेरो सपना थियो ।” उनि त्यहाँ काम गरेर वि.स. २०६२ को अन्त्यतिर आफ्नै देशमा केहि गर्ने उद्देश्यले नेपाल फर्किए ।
चार लाखमा रेडिमेड व्यावसाय
अर्काको देशमा कति पसिना बगाउनु, आफ्नै ठाउँमा केहि गर्ने उद्देश्यले भारतमा कमाएको चार लाख लिएर उनि नेपालगंजमा प्रसिद्ध ब्यापारी कृष्ण प्रसाद श्रेष्ठ कहाँ पुगे । ‘मैले जुत्ता उद्योग बनाउने सोच गरेको थिए, तर आफन्तले गरेका कारण प्रतिस्पर्दा गर्न उचित ठानिन र रेडिमेड ब्यबसायमा सहयोग गर्नुभयो, अहिले पारिवारिक सहयोगका कारण मेरो यो उचाई कायम भएको हो ।’ उनले आफ्नो लामो यात्रामा जीवन संगिनी राधा देवी धामीको सहायता कै कारण सफलता प्राप्त गरेको दाबी गर्दछन । ‘म धेरै ठाउँमा भौतारिए तर पनि लगातार एक दशकसम्म उनले धैर्यता गरेर बसिन, अहिले मसंगै ब्यबसाय सम्हालिरहेकी छन । उनको म प्रतिको विश्वास र धैर्यता कै कारण व्यवसायमा मैले प्रगति गर्न सकेको हुँ’, उनले भने ।
अहिले धामिका कमल इन्टरप्राईजेज, मनिषा ट्रेडलिंक र सिद्धिविनायक अर्डर एण्ड सप्लायर्स नामका व्यवसायीक फर्महरू नेपालगंजको प्रसिद्ध स्थानमा बनेका छन । उनीसँग रेडिमेड कपडा तयार पार्ने तिन वटा गार्मेन्ट उद्योग छन र एउटा झोला उत्पादन उद्योग छ ।
२४ श्रावण २०८०, बुधबार १७:१९ प्रकाशित