१६ साउन, कोहलपुर । ग्रामिण तथा थारु समुदायमा प्रचलनमा रहेको धरमभकारी परम्परा बिलय भएर गएको छ । राणाशासनकाल देखि पंचायत कालसम्मको अवधीमा ब्यापक प्रचलनमा आएको धरमभकारीको प्रचलन अहिले पूर्णत लोप भैसकेको छ ।
विशेष गरेर ग्रामिण क्षेत्र त्यसमा पनि अझै तराईका थारु समुदाय भित्र रहेको धरमभकारीको प्रचलन ब्यवस्था परिवर्तन भएसँगै बिलय हुने अवस्थामा पुगेको स्थानिय थारु अगुवाहरु बताउँछन । खास गरेर बाढी डुवान, खडेरी वा माहामारीका कारण उत्पन्न हुनसक्ने परिस्थितीले निम्त्याउने भोकमरीसँग जुध्नकालागी सामुहिक रुपमा ठुला ठुला भकारीमा खाद्यान्न संग्रह गरेर राख्ने प्रचलनलाई नै धरमभकारी भन्ने गरीन्थ्यो ।
वर्षातको समयमा पानी नपरेर सुख्खा हुँदाका बखत होस वा धानबालीमा लाग्ने महामारी रोगका कारण अन्न उत्पादन नहुँदा वा अन्य कुनै महामारीले निम्त्याएको भोकमरीलाई टार्ने बलियो आधारका रुपमा धरमभकारीलाई लिने गरीन्थ्यो । खासगरी ग्रामिण क्षेत्रमा खेती गर्ने किसान तथा जमिन्दारले कुनै भबितब्यका कारण हुन सक्ने भोकमरीबाट जोगीन १ बिगाहा खेत जोत्नेले १ मन धान (२०किलो) धरमभकारीमा जम्मा गर्ने गर्दथे । त्यसमा जमिन्दार र किसान सबैले त्यहि अनुपातमा जम्मा गर्थे र सबैले जम्मा गर्दा १५ देखि २० क्वीन्टल धान जम्मा हुन्थ्यो । त्यसरी जम्मा भएको अन्न राख्नकालागि बाँस वा नर्कटको भकारी बनाएर राख्ने गरीन्थ्यो ।
भकारीमा अन्न राख्दा ककस्को कति आयो भनेर टिपोट गरीन्थ्यो र त्यसरी धरमभकारीमा जम्मा भएको धान जसको घरमा भोकमरीको समस्या हुन्छ त्यसैले सापटीको रुपमा लिने र भोकमरीको समस्या टार्ने गर्दथे । र अर्को वर्ष आफुले धरमभकारीबाट लिएको धानमा क्वीन्टलमा १ मन थपेर फिर्ता गर्नुपर्दथ्यो । यसरी फिर्ता गर्ने क्रममा कुनै अन्य महङ्गो ब्याज तिर्नुपर्दैनथ्यो ।
त्यस प्रचलनले सहजरुपमा गर्जो टार्ने काम गरेको स्मरण बुढापाकाहरुसँग अहिले पनि ताजै छ । बाँकेमा साबिक बानियाभार गाबिस हुदा कोहलपुर क्षेत्र आसपासका थारु गाँउहरुमध्ये अकल घरुवा, रझेना, मैटहवा, नौवस्ता लगायतका गाँउहरुमा धरमभकारी राख्ने गरेको कोहलपुर ५ रझेनाका थारु अगुवा गोकुल थारु बताउँछन ।
धरमभकारीको प्रचलनले कुनैपनि मानिस भोकमरीमा पर्ने अवस्था नआउने थारु बताउँछन । उनका अनुसार सहज रुपमा आफ्नो परिवारलाई पुग्ने धान धरमभकारीबाट लिन पाईन्थ्यो र अर्को वर्ष धानकै सिजनमा ईमान्दारिपुर्वक तिर्ने गरिन्थ्यो । त्यसखालको प्रचलनले महङ्गो ब्याजमा ऋणलिने र चर्को ऋणका कारण झन गरिवीतिर धकिलिने अवस्था त्यतिबेला थिएन ।
अहिले धरमभकारीको प्रचलन हराएको प्रति थारुले दुख ब्यक्त गरे । धरमभकारी प्रथा हराएकै कारण अहिले मिटरब्याजको प्रचलन बढ्दै गएको उनको बुझाई छ । अहिले कसैलाई केही आपत परीहाल्यो भने बिभिन्न ब्यक्ति तथा सहकारीबाट चर्को ब्याजदरमा ऋण लिएर गर्जो टार्नुपर्ने अवस्था रहेको बताउँदै थारुले यसरी लिएको ऋणले तत्कालीन अवस्थामा गर्जो टरेपनि पछि गएर आर्थिक रुपमा कमजोर बनाउने बताउँछन ।
गर्जो टार्नका लागि मानिसहरु मिटर ब्याज लगायत बिभिन्न माध्यमबाट ऋण लिने गरेको र तिर्न नसकेर छटपटाईरहेको समाचारमा सुन्दा परम्परागत रुपमा रहेको धरमभकारी प्रचलनको यादले सताउने थारु बताउँछन ।
“यो वर्ष पानी परेको छैन, सुख्खा हुने अवस्था छ । भोकमरी त पर्छ नै, तर के गर्ने ? ऋण गरेर पनि आफ्नो जोहो गर्नुपर्ने बाध्यता छ” रझेना गाँउकै जोगीलाल थारु भन्छन, “पहिले मानिसको दुखमा साथ दिएपछि धर्म हुन्छ भन्ने मान्यता थियो र धर्म कमाउनलाई पनि धरमभकारीको परम्परा कायम थियो तर अहिले त्यो चलन हराएर गयो ।”
“अबका मानिसहरुमा धर्म होईन स्वार्थ मात्र छ ।” आफुहरुको परम्परागत प्रचलन लोप भएको प्रति गुनासो गर्दै थारुले भने, “धरमभकारीको चलनले मानिसलाई गरिब हुनबाट रोक्ने काम गथ्र्यो । अहिले त्यो प्रचलन लोप भएर गयो ।”
थारु लोक साहित्य र थारु संस्कृतिमा विद्यावारिधी गरेका डा. कृष्णराज सर्वहारीका अनुसार राणा शासनकालमा सुरुभएको धरमभकारीको प्रचलन २०४६ साल अघि नै लोप भएको थियो । त्यसबेलासम्म धर्म कमाउनका लागि जमिन्दार, बड्घरहरुले अन्न दान गरेर धरमभकारीमा राख्ने चलन थियो । ऐलानी जग्गामा समुहिक खेती गरेर उब्जनी भएको धान पनि धरमभकारीमा राख्ने चलन थियो ।
उक्त प्रचलन नहराएको भए अरुको घरमा थारुहरु कमैया बस्नुपर्ने अवस्था नआउने सर्वहारी बताउँछन । उनका अनुसार धरमभकारी प्रचलनको बिकसित रुप भनेको अहिलेका सहकारी संस्था हुन । “धरमभकारीको अन्त्यसँगै सहकारी संस्थाहरुको जन्म भयो र मानिसहरु नाफामुलक कार्यमा लाग्न थाले” डा. सर्वहारी भन्छन, “धरमभकारीको प्रचलनले भोकमरीको समस्या मात्र टारेको थिएन यसले गाँउघरमा कसैको बिवाहवारी, पुजाआजा, मरुबरु जस्ता कार्यमा पनि धेरै सहयोग पुर्याएको थियो ।”
धरमभखारीको बारेमा जानकार थारु कल्याणकारिणी सभाका केन्द्रीय उपमहामन्त्री एवं गुठी संस्थानका पुर्व अध्यक्ष मिनराज चौधरीका अनुसार धरमभखारी प्रचलनले मानिसहरुमा सहयोगी र भावनात्मक एकतामा जोड दिएको थियो । बर्दियाको पाताभार, उल्टनपुर गाँउमा केही दशकअघिसम्म पनि धरमभकारी परम्परा कायमै रहेको चौधरी सम्झन्छन । पहाडी क्षेत्रमा समेत धरमभकारी प्रथा कायम रहेकोमा अहिले सबैतिर यसको प्रचलन हराएर गएको चौधरीले बताए ।
पछिल्लो समय त्यही पुुरानो प्रचलनको बिकसित स्वरुपका रुपमा घुुम्ती कोष, सहायता कोष, मानव सेवा कोष जस्ता कोषहरु संचालन नभएका होइनन् । तर ती कोषहरुबाट नि:शुल्क वा निर्ब्याजी रुपमा सहयोग पाईदैन, ब्याज तिर्नैपर्छ । यस्तो अवस्थामा अझै पनि स्थानिय पालिका वा वडापालिकाहरुले धरमभकारी लगाएतका परम्परागत प्रचलनलाई पुर्नजिवित गर्नसके मानवीय सहयोग हुनुका साथै गरिब र बिपन्नहरुलाई ठुलो राहत मिल्ने बुढापाकाहरुको भनाई छ ।
१६ श्रावण २०८०, मंगलवार १५:३२ प्रकाशित