बाँके राष्ट्रिय निकुञ्ज : पाटेबाघको क्रीडास्थल
  • काँचुली खबर

१५ साउन, कोहलपुर । नेपालको सबैभन्दा कान्छो निकुञ्ज हो, बाँके राष्ट्रिय निकुञ्ज । बि.सं. २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरीएको हो ।

पाटेबाघको संरक्षण गर्नकै लागि १३ वर्षअघि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज पाटेबाघको क्रीडास्थल बन्दै गएको छ । निकुञ्ज स्थापना हुँदा चार वटा मात्र बाघ रहेकोमा हाल बाघको सँख्या २५ भन्दा बढी पुगेको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले निकुञ्ज स्थापना हुँदा चार वटा बाघ रहेकोमा त्यसको आठ वर्षपछि गरिएको गणनामा सो सङ्ख्या २१ पुगेको र १२ वर्षपछि गत वर्ष गरिएको गणनामा २५ पुगेको जानकारी दिए ।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको अवधारणा अगाडी ल्याईएको थियो । निकुञ्जले बाघको सङ्ख्या बढेपछि बासस्थान र आहारा प्रजाति व्यवस्थापनलाई विशेष जोड दिइरहेको छ । विश्वमै लोपोन्मुख अवस्थामा रहेको पाटेबाघ र आहारा प्रजाति संरक्षणका लागि विभिन्न काम गरिरहेको निकुञ्जले जनाएको छ ।

पाटेबाघको सङ्ख्या बढेसँगै संरक्षणमा पनि विभिन्न चुनौती थपिएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार बाघको सङ्ख्या बढे पनि बासस्थान क्षेत्र विस्तार गर्न कठिनाइ हुनु, चोरी सिकार पूर्ण रूपमा नियन्त्रण नहुनु, मानव र बाघबिच द्वन्द्व हुनु, निकुञ्ज क्षेत्रमा विकासका पूर्वाधार निर्माण गरिनु संरक्षणका चुनौती हुन् ।

यी यावत चुनौतीका बाबजुद निकुञ्जले बिस्तारै आफ्नो उद्धेश्य अनुसारको स्वरुप लिन थालेको छ । पछिल्लो समय निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको सँख्या बढ्दै गएको निकुञ्ज प्रशासनले जनाएको छ । सन् २०२० मा निकुञ्जले आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तयारी गरिरहँदा कोरोना महामारीले सबै योजना प्रभावित बन्न पुगेको थियो । यद्यपी निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि पर्यटक आउने क्रम बढ्दै गएको छ ।

सूचना अधिकारी भुसालले गत आर्थिक वर्ष २०७९/८० मा ३०२ जना पर्यटक निकुञ्जमा बाघ अवलोकनका लागि आएको जनाउँदै उनीहरूमध्ये २९० जना स्वदेशी, एक जना सार्क देशका र ११ जना विदेशी पर्यटक रहेको बताए । उनले निकुञ्ज स्थापनाको सुरुका वर्षमा बाघ संरक्षण, निकुञ्ज वरिपरिका बासिन्दाको सुरक्षालगायतमा बढी ध्यान दिइएको जनाउँदै अब पर्यटक आकर्षित गर्न विशेष ध्यान दिइने बताए ।

  • १५ श्रावण २०८०, सोमबार १३:२० प्रकाशित
  • Nabintech