बाँकेमा नागरिकताभन्दा राहदानी बनाउने धेरै
  • काँचुली खबर

१४ साउन, नेपालगन्ज । बाँकेमा नागरिकताको प्रमाणपत्र बनाउनेभन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा १२ हजार ८६ जनाले राहदानी बनाएका छन् ।

यसरी राहदानी बनाउनेमा तीन हजार ४३१ जनाले द्रुत सेवा सिफारिसमार्फत र आठ हजार ६५५ जनाले सामान्य प्रक्रियाबाट गरी राहदानी प्राप्त गर्नुभएको छ । प्रशासनको तथ्याङ्कअनुसार सोही अवधिमा नौ हजार ९६२ जनाले वंशज, वैवाहिक, अङ्गीकृत र जन्मको आधारमा नेपाली नागरिकका सन्तानले वंशज नागरिकता प्राप्त गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले भने, ‘पछिल्लो दिनमा विदेशी मुलुकमा अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्यासमेत बढेको छ ।’ राहदानी बापत प्रशासनले गत आवमा चार करोड ५७ लाख ७२ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

यसैगरी राष्ट्रिय परिचयपत्रका लागि वडा वडामा टोली परिचालन भएपछि यसवर्ष नागरिकताको प्रतिलिपि बनाउनेको सङ्ख्या पनि बढेको छ । गत आवमा १२ हजार ९७८ जनाले नागरिकताको प्रतिलिपि बनाएका छन् । नबुझिने, झुत्रो भएको नागरिकता राष्ट्रिय परिचयका लागि नयाँ बनाउनुपरेको सेवाग्राहीको भनाइ छ ।

प्रशासनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १३ हजार ५०० ले नागरिकता प्राप्त गरेकोमा पाँच हजार ५३२ जनाले मात्रै राहदानी प्राप्त गरेका थिए । यसैगरी सात हजार ७२५ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए ।

पछिल्लो समय रोजगारीका लागि तथा अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या बढेपछि राहदानी बनाउनेका सङ्ख्या पनि बढेको प्रशासनले जनाएको छ ।
-गोरखापत्रबाट

  • १४ श्रावण २०८०, आईतवार १५:१४ प्रकाशित
  • Nabintech