३ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् ।
अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ८० किलोभन्दा बढी रहेको उनीहरु बताउँछन् । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।
‘क्याथे प्यासिफिकको प्लाइटमार्फत आएको उक्त सुन करिब ८० देखि १०० किलोको हाराहारीमा रहेको छ । हामी अहिले अपरेशनमै छौँ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने । विशेष सूचनाका आधारमा राजश्वको टोली विमानस्थल भन्सारमा छापा हान्न पुगेको बताइएको छ ।
सुन कसको हो भन्नेबारे खुल्न सकेको छैन भने यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।
बरामद भएको सुन हालसम्मकै तस्करीको अवैध सुनमध्येकै सर्वाधिक भएको बताइएको छ ।
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल भन्सार कार्यालयको बाहिर सुन समातिएको स्रोतले बताएको छ । सुन हङकङबाट आएको बताइएको छ ।
३ श्रावण २०८०, बुधबार २२:१९ प्रकाशित