२ साउन, कोहलपुर । कोहलपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । कोहलपुर नगरपालिकाले हाजिर गर्न नदिएर आफुहरुलाई अन्याय गरेको भन्दै आक्रोशित भएका स्वास्थ्यकर्मीहरुले आन्दोलनको चेतावनी दिएका हुन ।
आर्थिक वर्ष शुरू भएसँगै कोहलपुर नगरपालिकाले १६ जना स्वास्थ्यकर्मीलाई हाजिर नहुन भन्दै पत्र पठाएको थियो । असार ३० गते बसेको कोहलपुर नगर कार्यपालिकाको बैठकले दरबन्दी भन्दा बढि रहेका स्वास्थ्यका १६ जना कर्मचारीहरुको ब्यवस्थापनकालागि भन्दै समायोजन मिलान भन्दा पहिले कार्यरत निकायमा फिर्ता पठाउने निर्णय गरेको थियो । उक्त निर्णयबाट आफुहरु अन्यायमा परेको भन्दै स्वास्थ्यकर्मीहरुले आन्दोलनको चेतावनी दिएका हुन ।
कोहलपुर नगर स्वास्थ्य शाखाका सिनियर अहेव हेगराज खनालले समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएर अपमानजनक ब्यवहार गरीएको बताए । नगरपालिकाले समायोजनमा कार्यरत कर्मचारीलाई साउन १ गतेदेखि हाजिर गर्न नदिने भएपछि आफुहरु अन्यायमा परेको खनालले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धि व्यवस्था २०७७ बमोजिम आफुहरु दोहोरो सहमतिका आधारमा बिभिन्न मितिमा समायोजन मिलानको अनुसार कोहलपुर नगरपालिकामा हाजिर भइ हालसम्म काम गर्दै आएको भएपनि एक्कासी पुरानै ठाँउमा फिर्ता पठाउने निर्णय हुन दुखद भएको सिनियर अहेव शारदा चन्दले बताईन ।
समायोजनमा कामकाज गर्ने गरि खटाएका कर्मचारीहरुलाई एक्कासी फिर्ता गर्ने निर्णयले अन्याय भएको स्वास्थ्यकर्मीको भनाई छ ।
यसैबिच स्वास्थ्य क्षेत्रसँग सम्बन्धित बिभिन्न ट्रेड युनियनहरुले स्वास्थ्यकर्मीहरुको आन्दोलनमा एकेवद्धता जनाउने बताएका छन । मंगलबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रेड युनियनका प्रतिनिधिहरुले दोहोरो सहमति लिईसकेकाका कार्मचारीहरुलाई पुन पुरानै ठाउमा फर्कन नैतिक समस्या पर्ने भन्दै केन्द्रिय स्तरबाटै यसको समाधान खोजिने बताए ।
कोरोना महामारीको समयमा आफ्नो ज्यान जोखिममा राखेर काम गरेका स्वास्थ्यकर्मीहरुलाई स्थानिय निकायमै ब्यवस्थापन गर्नुको साटो अलपत्र पार्ने गरी पुरानै ठाँउमा फिर्ता पठाउने निर्णय गर्नु निन्दनिय भएको भन्दै उनिहरुले रोश ब्यक्त गरेका छन ।
बाँकेमा सबै ट्रेड युनियनको तर्फबाट स्थानिय, प्रदेश हुँदै केन्द्रिय स्तरमा समेत यस विषयमा ध्यानाकर्षण पत्र बुझाउने तयारी भईरहेको नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य देबेन्द्र कुमार केसीले बताए । बिगतको स्थानिय सरकारले लिएको दायित्व अहिलेको सरकारले पनि बहन गर्नुपर्ने भन्दै केसीले स्वास्थ्यकर्मीहरुलाई काम गर्नै नदिने वातावरण निर्माण गर्नु भर्त्सनायोग्य कार्य भएको उल्लेख गरे ।
ट्रेड युनियन काँग्रेस बाँके जिल्ला अध्यक्ष लोकेन्द्र चन्दले स्वास्थ्यकर्मीहरुमाथी राजनितीक प्रतिशोध साँधिएको भन्दै आक्रोश ब्यक्त गरे । आफु मातहतका कर्मचारीलाई अभिभावकीय भुमिका निर्वाह गर्न नसक्नु प्रमु प्रशासकिय अधिकृत र पालिका प्रमुखको कमजोरी भएको उल्लेख गर्दै चन्दले तानाशाही रूपमा कर्मचारीलाई फिर्ता पठाउने निर्णय कदापी स्विकार्य नहुने बताए ।
कोहलपुर नगरपालिकाको निर्णयका कारण देशभरका स्वास्थ्यकर्मीहरुलाई असर परेको बताउँदै चन्दले विपदको समयमा फ्रन्ट लाईनमा खटिएका कर्मचारीलाई दुख दिनु आपत्तिजनक भएको बताए ।
पत्रकार सम्मेलनमा राष्ट्रिय ट्रेड युनियन बाँके जिल्ला अध्यक्ष राजेन्द्र शाहि, अखिल नेपाल ट्रेड युनियन महासंघ बाँके अध्यक्ष राजेन्द्र सिंह लगाएतले स्वास्थ्यकर्मीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्ने गरी नितिगत रुपमै ऐन संशोधनकालागि पहल भईरहेको बताएका थिए । उनिहरुले स्वास्थ्यकर्मीहरुले गर्ने आन्दोलनमा ऐकेवद्धता समेत जनाएका छन ।
२ श्रावण २०८०, मंगलवार १८:५१ प्रकाशित