२८ असार, नेपालगन्ज । बाँकेको जमुनाह नाकादेखि पूर्वतर्फ दशगजासँगै जोडेर भारतले पक्की सडक निर्माण गरेको छ । सो सडक जमुनाहा नाकास्थित ६५१ नम्बरको जङ्गे पिलरबाट पूर्वतर्फ सुइया बघौडासम्म निर्माण गरिएको हो ।
भारतले दशगजा छोएर अग्लो सडक निर्माण गरेपछि पानी रोकिएर नेपालका धेरै ठाउँ डुबानमा पर्नेगरेका छन् । दशगजा वारिका नेपाली नागरिकले भारतले बनाएको अग्लो सडकबाट आफ्ना गाउँहरू डुबानमा पर्न थालेको गुनासो गर्दैआएका छन् । सो सडकका कारण बाँकेका धेरै सीमावर्ती क्षेत्रसँगै नेपालगन्ज उपमहानगरपालिको सीमा बस्ती जमुनाह समेत डुबानमा पर्न थालेको छ ।
नेपालगन्ज १५ जमुनहाका रमेश खटिकले दशगजामै सडक बनाउन थालेपछि आफूहरूले सो बारेमा स्थानीय प्रशासनलाई जानकारी गराएको भए पनि कुनै रोकटोकविना सडक निर्माण गरिएको बताए । उनले सडकका कारण पानीको निकास रोकिएपछि यताको गाउँवस्ती डुबानमा पर्न थालेको गुनासो गरे ।
सोही प्रकारको गुनासो जमुनाहाका अर्का स्थानीय दीपक रैदासको पनि छ । उनले भारतले दशगजामै सडक बनाएको र वृक्षारोपणका लागि खाल्डाहरू खनिएको बताए । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले नरैनापुर गाउँपालिकाको सीमानजिकै बनाइएको सो अग्लो सडकका कारण पालिकाका धेरै गाउँ डुबानमा पर्ने र जलमग्न हुने गरेको बताए ।
उनले पानीको निकास नदिएको र दशगजा छोएर बनाइएको सडकका कारण नरैनापुरवासीलाई सास्ती हुँदैआएको बताए । यसैबीच सिमानाको पिलरनजिकै वृक्षारोपण गर्ने भनी भारतीय नागरिकद्वारा खाडलहरू खनिएपछि बाँके प्रशासनले विरोध गर्दा खाडलहरू पुरिएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भारतीय पक्षद्वारा वृक्षारोपणका लागि खाडल खनिएको पाइएपछि सुरक्षाकर्मीलाई आग्रह गर्दा खाडलहरू पुर्न लगाइएको बताए । उनले त्यसपछि नयाँ ठाउँमा खाडल खन्ने र वृक्षारोपण गरेको नपाइएको बताए ।
भारतले २०७० चैत ३० गते सर्भे गरेर बाँकेको पूर्वीसीमा सुइया बघौडाको दक्षिणबाट दशगजाको समानान्तर हुनेगरी सडक निर्माण थालेको थियो । जसका कारण नरैनापुरका सीमाबस्ती धेरै पटक डुबानमा परिसकेका छन् । सो सडक निर्माणले पानीको प्राकृतिक प्रवाह रोक्दा राप्तीसोनारीका बस्तीसमेत जलमग्न हुनेगरेका छन् ।
पश्चिममा भारतको लक्ष्मणपुर बाँधदेखि नेपालको साइगाउँसम्म २१ किलोमिटर सडक निर्माण गरिएको छ । यसबाट डुडुवा गाउँपालिकासँगै नेपालगन्ज उपमहानगरपालिकाका सीमावर्ती बस्ती पनि डुबानको उच्च जोखिममा छन् ।
निर्माणाधीन सडक जमिनको सतहबाट कतै २ दशमलव ५ मिटर उचाइमा छ भने कतै एकदेखि डेढ मिटरको उचाइमा छ । कतै दशगजामै र कतै दशगजानजिकै बनाइएको सो सडकको चौडाइ १५ देखि ३० मिटरसम्म छ ।
गोरखापत्रबाट
२८ असार २०८०, बिहीबार १६:२८ प्रकाशित