प्रेमसम्बन्ध बलात्कारमा परिणत, केश मिलाउन १८ लाखकाे बार्गेनिङ
  • काँचुली खबर

फाईल तस्बिर ।

१९ असार, काेहलपुर । कोहलपुर २ का एक युवा र कोहलपुर ११ कि एक युवती विगत केही महिना देखि प्रेम सम्बन्धमा हुन्छन । एकै विद्यालयमा कक्षा ११ मा पढ्ने अभि थारू (नाम परिवर्तन) र कक्षा १२ मा पढ्ने ति युवती बिच केही महिनाको प्रेम सम्बन्धपछि युवती कै घरमा यौन सम्बन्ध रहन पुग्छ । यो घटना गत जेठ ६ गतेको हो ।

यौन सम्बन्ध रहेको केही दिन पछि अभिसँग सम्पर्कमा नभएको भन्दै युवती जेठ १५ गते अभिको घर पुग्छिन् । र अभिलाई नभेटेपछि उसको मोबाइल ल्याएर फर्कन्छिन् । त्यसको ३ दिन पछि युवती आफू अभिसँगको सम्बन्धका कारण गर्भवती रहेको भन्दै आमा बुवा र केही आफ्न्त सहित अभिको घर पुग्छिन् । आफ्नो घर आएकी युवती र तिनका आफन्तलाई अभिका बुवा जित बहादुर थारूले केटीको गर्भ जाँच पछि मात्रै आफूहरूले स्वीकार गर्ने भन्दै फर्काई दिन्छन् । १९ गते बिहान गर्भ जाँचका लागी भन्दै केटीकाे घरमा पुगेका अभिका बुवालाई केटीले आफूलाई स्वीकार नगरेकाले बलात्कारको मुद्दा दर्ता गर्ने भन्दै १० बजे पछि इलाका प्रहरी कार्यालय कोहलपुरमा आउनु भन्दै फर्काई दिन्छिन् ।

१० बजे इलाका प्रहरी कार्यालय कोहलपुरमा आउन भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरको महिला सेलबाट जित बहादुरलाई फोन आउँछ । इलाका प्रहरी कार्यालय पुगिसकेपछि युवतीसँगै रहेका पवित्रा ढकाल र माया हमालले युवतीलाई पैसा दिएर मिलापत्र गराउन सकिने प्रस्ताव आफूसँग राखेको जित बहादुर बताउँछन । महिला सेलमा रहेका प्रहरी अधिकारीले पैसामा मिलापत्र गराउने भए प्रहरी कार्यालय बाहिर गएर मिलापत्र गर्नु भन्दै पठाइदिन्छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट निस्केका उनीहरू प्रहरी कार्यालय नजिकै रहेको पवित्रा ढकालको घरमा पुगेर छलफल सुरु गर्छन ।

केटी पक्षले ३० लाख र केटा पक्षले १० लाखबाट सुरु भएको बार्गेनिङ पहिलो दिन केटी पक्ष २१ लाख र केटा पक्ष १५ लाखमा पुग्दा अर्को दिन फेरी छलफल गर्ने गरि टुंगिन्छ । दोस्रो दिन जेठ २१ गते छलफलका क्रममा १८ लाखमा सहमती हुन्छ । केटी पक्षले नगद पैसा मागेको र केटा पक्षले केटीको बैक खातामा मात्रै पैसा हाल्ने भनेपछि तुरुन्तै एभरेष्ट बैक लिमिटेड कोहलपुर शाखामा केटीको नाममा खाता खोलिन्छ । केटाका बुवा जित बहादुरले पवित्रा ढकाल र माया हमाल समेत गएर खाता खोलिदिएको बताउँछन । केटीले मोबाइलमा म्यासेज आएपछि मात्रै कागज गर्न राजी भएपछि जित बहादुर आफ्नो श्रीमतीको खातामा रहेको १४ लाख माछापुछ्रे बैकबाट र बाँकी ४ लाख सो युवतीको खातामा जम्मा गरिदिन्छन् ।

रकम जम्माको म्यासेज आईसकेपछि उनीहरू इलाका प्रहरी कार्यालय नजिकै रहेको एक कानुन व्यवसायीकाेमा पुगेर मिलापत्रको कागज गर्छन । कागजमा दुवै जना प्रेम सम्बन्धमा रहेको, शारीरिक सम्बन्ध रहेपनि आगामी दिनमा अलग अलग रहेर जीवन यापन गर्ने उल्लेख छ । सो कागज आर्थिक लेनदेनको कुरा लेखिएको छैन । केटी पक्षबाट केटीका बुवाआमा लगायत पवित्रा ढकाल, माया हमाल साक्षी बसेका छन भने । केटाका पक्षबाट रञ्जिता चौधरी लगायत थप ६ जना साक्षी बसेका छन । सो कागजमा बलात्कार आरोपी अभि र केटी दुवैले दायाँ बायाँ ल्याप्चे सहित सहीछाप गरेका छन । मिलापत्रको कागज पछि दुबै पक्ष आ-आफ्नो घर तर्फ लाग्छन् ।

त्यसको एक हप्ता पछि केटीको गाँउका केही अगुवा भनिएकाहरू केटाको घर पुग्छन् । र अभिका बुवा जित बहादुर लाई १८ लाखको मिलापत्र महंगाे भएकाले फेरी एक पटक छलफल गर्नुपर्ने प्रस्ताव राख्छन् र सो कुरामा केटाका बुवा राजी हुन्छन । भोलि पल्ट अर्थात जेठ ३० गते केटीको गाँउमा सोही विषयमा छलफल गर्न बैठक सुरु हुन्छ । सो बैठकमा केटी पक्षलाई बोलाइए पछि उनीहरू सो बैठकमा आउन अस्वीकार गर्छन । त्यसपछि केटा पक्ष र केही स्थानीय केटीको घरमै पुग्छन् । सो क्रममा केटीका आमाको आक्रमणबाट बैठककाे मध्यस्थता गरीरहेकी रञ्जिता थारू समान्य घाईते हुन पुग्छिन्  । समान्य घाईते भएपनि केटीका आफन्त विरुद्ध इलाका प्रहरीमा उजुरी गर्ने भन्दै उनिहरू बाहिरिन्छन् ।

आफ्नै घरमा आएर आफूहरूमाथी बलजफ्ती गर्न खोजेको र उल्टै प्रहरीमा उजुरी गर्ने धम्की दिएको भन्दै केटी पक्षले भोलि पल्ट अर्थात जेठ ३१ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा जबरजस्ती करणीकाे मुद्दा दर्ता गर्छन । ३२ गते प्रहरीले आरोपी अभिलाई पक्राउ गरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउँछ । जबरजस्ती करणीको मुद्दा मिलापत्र गराउन दवाव दिएको भन्दै प्रहरीले स्थानीय ४ जनालाई पक्राउ गरेपछि मात्रै उक्त घटना सार्वजनिक हुन्छ ।

प्रहरीका अनुसार १८ लाख लिएर घटना लुकाउन खोज्ने कोहलपुर ११ की पवित्रा ढकाल, माया हमाल, रञ्जिता थारू र विजय पोख्रेल पक्राउ परेका छन । मुद्दा मिलाउने भन्दै केटा पक्षबाट लिएको १८ लाख मध्ये उनिहरूले ४ लाख लगेको प्रहरीको भनाई छ । पीडित युवतीले भने सबै रकम आफूसँगै रहेको दाबी गरिन् । मिलापत्र गर्न दवाव दिने अन्य केही फरार रहेको र उनीहरूको खोज भई रहेको इलाका प्रहरी कार्यालयका प्रमुख सुन्दर तिवारीले बताए । आफू मिलापत्रको पक्षमा नरहेकाे तर केटा पक्षको दबावका कारण मिलापत्र गर्न बाध्य भएको युवतीको भनाई छ ।

  • १९ असार २०८०, मंगलवार ०८:५१ प्रकाशित
  • Nabintech