आज बकर ईद र हरिशयनी एकादशी, देशैभर सार्वजनिक बिदा
  • काँचुली खबर

१४ असार, काठमाडौं । आज इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।

यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् । धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्न लाग्दा अल्लाह प्रसत्र भएर इस्माइलको कुर्बानीको सटृा स्वर्ग (जत्रत) मा पालिएका दुम्बाको कुर्बानी गरिएकाले सोही बमोजिम अहिलेसम्म पशुको कुर्बानी दिने धार्मिक मान्यतालाई मुसलमानहरुले कायम राखेको पाइएको छ ।

निःसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मत्रत (दुवा) माग्दै भनेका थिए कि यदि अल्लाहले मलाई सन्तान सुख दियो भने म कुर्बानी गर्छु । सोही अनुरुप अल्लाहले निजको परीका लागि सपनामा कुर्बानी गर्न आदेश दिँदा उनले धेरै जनावरको कुर्बानी त गरे तर अल्लाह खुसी भएनन् ।

अन्तममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई खुसी गराउन खोजे पछि उनको परीक्षामा सफल भएकाले कुर्बानी गर्ने स्थानमा मानिसको नभइ पालिएका दुम्बाको कुर्बानी दिइएको बतइन्छ ।

कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपत्र परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र अर्को एक भाग आफू खानुपर्ने धार्मिक मान्यता छ ।

गएको वर्षमा बकरिद पर्व असार २६ गते परेको थियो । इस्लाम धर्मअनुसार प्रत्येक वर्ष अरबी क्यालेन्डरअनुसार १०/१० दिन पछि सर्दै जाने भएकाले ३६ वर्षको अवधिमा सबै चाडपर्वले एक फन्को लगाइसक्छ । यस पटक नेपालबाट एक हजार चार सय ४४ जना हज गर्न साउदीको मक्का पुगेका छन् ।

यो चाडको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।

आजै तुलसी राेप्ने दिन

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।

भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ एकादशी परेका छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् ।

कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।

तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिकरुपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।

तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

  • १४ असार २०८०, बिहीबार ०९:५३ प्रकाशित
  • Nabintech