वाणिज्य बैंक नेपालगन्ज शाखा प्रबन्धकलाई ८ वर्ष कैद, १ करोड २५ लाख रुपैयाँ जरिवाना
  • काँचुली खबर

१२ असार, नेपालगन्ज । किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाहीलाई दोषी ठहर गर्दै विशेष अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ । प्रबन्धक शाहीलाई कैदका साथै १ करोड २५ लाख रुपैयाँ जरिवानासमेत हुने भएको छ ।

बैंकका शाहीसमेतका कर्मचारीले किर्ते कागजातको आधारमा किर्ते धितो मूल्यांकन गरी कर्जा प्रवाह गरेको अभियोजन सहित मुद्दा दर्ता गरिएको थियो । यसबाट सरकारी सम्पत्तिको नोक्सानी भएको ठहरसहित अख्तियारले मुद्दा चलाएको भएपनि अदालतबाट आंशिक ठहर हुने गरि फैसला भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढलाई ऋण लगानी गर्दा बैंकलाई झुक्याएर १ करोड २५ लाख रुपैयाँ ऋण प्रवाह गरेको अभियोगमा २०७७ जेठ २७ गते शाही पक्राउ परेका थिए ।

शाहीसँगै रिजवान अहमद जसगढलाई पनि सो मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । उनलाई एक वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ । यस मुद्दामा अभियोजन दर्ता भएका अन्य ६ प्रतिवादीले भने सफाइ पाएका छन् ।

शाहीमाथि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा र कर तिरेको रसिदलगायतका सरकारी कागजात किर्ते गरेको आरोप थियो । शाही, जसगढसहितको ८ जनामाथि मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेको आरोप लगाइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाही र अहमदसमेत ८ जनालाई प्रतिवादी कायम गरी १४ पुस २०७७ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरेको अढाइ वर्षपछि अदालतबाट फैसला आएको हो ।

  • १२ असार २०८०, मंगलवार १६:१४ प्रकाशित
  • Nabintech