२८ जेठ, नेपालगन्ज। बाँकेमा एक ठाँउबाट अर्को ठाँउ सार्न र घरको उचाई बढाउन मिल्ने प्रविधि भित्रिएको छ । वर्षाको समयमा सयौं घरहरु जलमग्न हुने नेपालगन्जमा पहिलो पटक यस्तो प्रविधि भित्रिएको हो ।
पछिल्लो समय घरको उचाइ बढाउन मिल्ने र घर पनि निश्चित क्षेत्रसम्म सार्न सकिने प्रविधि नेपालगञ्जमा भित्रिएको छ । भारतमा दुई दशकदेखि घर सार्ने र उचाइ बढाउन प्रयोग हुने ‘लिफ्टीङ्ग सिफ्टीङ्ग’ मार्फत काम गर्दै आएका बाँकेको जानकी-३ मानपुरका भोलासिंह राठौरले गत पुसदेखि यो विधिमार्फत काम गर्दै आएका छन ।
हाल नेपालगञ्जको न्यूरोडनजिकै लोकबहादुर सुनारको घरको काम अन्तिम चरणमा छ । घरको उचाइ बढाएर अन्तिम चरणको काम भइरहेको राठौरले जानकारी दिए ।
नेपाल सरकारका उपसचिव रहेका सुनारले प्रत्येक वर्ष डुबान हुने समस्याबाट दिक्क भएर यो विधिबाट घरको उचाइ बढाउन लागेका हुन । घरको करिब चार फिट उचाइ बढाउने काम अन्तिम चरणमा छ । नेपालगञ्ज–गुलरीया सडक खण्डस्थित मानपुरमा सडक छेउमा परेका आफन्तका दुई वटा घर सारेपछि राठौरले हाल नेपालगञ्जमा यो काम गरीरहेका छन ।
यसरी घर उठाउँदा ठूलाखाले मेसिनको प्रयोग गरिएको छैन । गाडी बिग्रिएपछि टायर झिकेर अडेस लगाउने फलामे विमहरु प्रयोग गरेर घरलाई सुरक्षा प्रदान गरिन्छ । घर सार्दा कुनै पनि क्षति हुँदैन । तर केही खर्चिलो भने छ । एक तल्ले घरको प्रतिस्क्वायर फिट ५०० रुपियाँ, दुई तल्ले घरको प्रतिस्क्वायर फिट ७५० र तीन तल्ले घरको प्रतिस्क्वायर फिट एक हजार रुपियाँ शुल्क तोकिएको उनको भनाई छ ।
राठौरले घर भत्काउनुभन्दा यसरी काम गर्नु कम खर्चिलो हुने दावी गर्छन । पछिल्लो समय धेरैतिरबाट यो विधिको बारेमा सोधीखोजी भइरहेको उनले बताए । भारतमा लामो समय काम गरेका राठौर नेपालगञ्ज केन्द्रित भएर अहिले काम गर्न खोजिरहेका छन ।
२८ जेष्ठ २०८०, आईतवार १७:२६ प्रकाशित