कोहलपुरमा माओवादी केन्द्रको प्रदेश स्तरीय स्कुलिङ
  • काँचुली खबर

२७ चैत्र, कोहलपुर । नेता कार्यकर्तामा वैचारिक स्तर खस्केको भन्दै नेकपा माओवादी केन्द्रले जनता र कार्यकर्तालाई प्रशिक्षित गर्नका लागी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

सोही अभियान अन्तर्गत माओवादी केन्द्र लुम्बिनी प्रदेश स्कुल विभागले आइतबार देखि ३ दिने स्कुलिङ सुरु गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेश उपाध्यक्ष एवं स्कुल विभाग प्रमुख दुर्गा बहादुर थारू (कविर)ले जानकारी दिए । ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १ सय ९ पालिका र बिभिन्न जवस र मोर्चाका गरि १ सय २५ जनाको सहभागिता रहेको माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।

सो कार्यक्रमको उद्घाटन गर्दै माओवादी केन्द्र स्कुल विभाग प्रमुख एवं पार्टी उप-महासचिव गिरिराजमणि पोख्रेलले कार्यकर्तामा वैचारिक स्तर खस्केको महसुस गरि देश भर कार्यकर्ता र जनताको तहसम्म माक्सवाद बारे प्रशिक्षित गर्ने अभियान सुरु गरिएको बताए । उनले ४ तहको पाठ्यक्रम तयार पारेर प्रशिक्षण अभियान चलाइएको जानकारी दिए । उनले केन्द्र, प्रदेश र पालिका तहसम्मको स्कुल विभागलाई सक्रिय भएर काम गरि रहेको भन्दै यसले पाटीमा नयाँ रक्त सञ्चार गरेको बताए ।

सोही कार्यक्रममा बोल्दै स्कुल विभाग सचिव एवं युवा नेता रामदीप आचार्यले माओवादी केन्द्रले कमी कमजोरीको समीक्षा र सच्चिने प्रतिबद्धता सहित स्कुलिङ विभागले बिचार र दर्शनमा जागरण अभियान सुरु गरेको बताए । पठनीय संस्कृतिमा कमी आएको भन्दै उनले सही दृष्टिकोणले मात्रै सही निकास दिने भन्दै त्यसका लागी वैचारिक प्रष्टता आवश्यकता पर्ने बताए । पहिलो चरणमा पालिका स्तरसम्म प्रशिक्षकहरू तयार पर्ने गरि काम भईरहेको उनको भनाई छ ।

उनले सबै जिल्लाको प्रतिनिधित्व हुने गरि केन्द्रमा एक तहको स्कुलिङ सम्पन्न गरिएको बताउदैं दोस्रो चरणमा प्रदेश स्तरमा स्कुलिङ भईरहेको जानकारी दिए । प्रदेश पछि जिल्ला जिल्ला र पालिका स्तरमा स्कुलिङ कार्यक्रमहरू चलाईने उनले जानकारी दिए । स्कुलिङको पहिलो दिन (आईतबार) गिरिराजमणि पोख्रेल, मार्क्सवादी अध्येयता रमेश कुमार सुनुवार, कमल चुदाली, पुरन केसी लगायतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणको दोस्रो दिन आज (सोमबार) युवा नेता रामदीप आचार्य, माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल, लेखनाथ न्यौपाने, प्रभुराम तामाङ लगायतले प्रशिक्षण दिने बताईएको छ ।

कार्यक्रममा माओवादी स्थाई समिति सदस्य पुर्ण कुमारी सुवेदी, केन्द्रीय सदस्य अन्जना थारू, कृष्णा केसी नमुना नरेन्द्र न्यौपाने, प्रदेश सहसचिव अकल बहादुर बम लगायत नेताहरूको सहभागिता थियो ।

  • २७ चैत्र २०७९, सोमबार ०९:०७ प्रकाशित
  • Nabintech