२२ पुस, नेपालगन्ज । बाँकेलाई ‘पूर्ण खोप’ जिल्ला घोषणा गरेको दुई वर्ष नबित्दै नेपालगञ्जमा दादुरा सङ्क्रणका कारण एक बच्चाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले दादुराका कारण ३१ महिने बच्चाको मृत्यु भएको बताए ।
पुस १३ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिका ५, ७ र ८ नम्बर वडामा २८ जना बालबालिकामा दादुरा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालाय बाँकेले जनाएको छ । सुपरभाइजर श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये ६ जना एउटै परिवारका बालबालिका हुन् ।
सङ्क्रमित हुने बालबालिका ५ देखि १२ वर्ष उमेर समूहका छन् । दादुरा संक्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राता बिमिरा आउनुका साथै आँखा रातो हुने लक्षण देखिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुदीन राईले दादुरा सङ्क्रमण नियन्त्रणभन्दा बाहिर नगएको दाबी गरे । पहाडी र मुस्लिम समुदायका केही बालबालिकामा दादुुरा सङ्क्रण पुष्टि भएको उनको भनाइ छ ।
उनले भने, ‘पूर्ण खोप जिल्ला भनेर अघिल्लो स्थानीय सरकारले घोषणा गरेको हो, किन अहिले सङ्क्रमण देखियो भन्ने थाहा छैन, परिस्थिति कसरी नियन्त्रणबाहिर जान नदिने भनेर तयारी अवस्थामा बसेका छौँ ।’
स्वास्थ्य विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका अनुसार दुई वर्ष मुनिका बालबालिकालाई ९ महिना र १५ महिनाको उमेरमा दुई पटक दादराविरुद्धको खोप दिइन्छ । उक्त खोप निःशुल्क उपलब्ध हुन्छ ।
जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर श्रेष्ठले दादुरा सङ्क्रमित बालबालिकाले खोप नलगाएको पाइएको बताए । उनी भन्छन्, ‘केहीले अहिलेसम्म खोप नै लगाएका छैनन् भने केही पूर्णमात्रामा खोप नलगाएको पाइयो ।’
यस्तै, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका पूर्वप्रमुख डाक्टर झलक शर्मा गौतमले पूर्ण खोप जिल्ला भनेर घोषणा गरिएका जिल्लाका केही स्थानमा बेलाबेला दादुरा सङ्क्रमण पुष्टि हुने गरेको सुनाउँछन् ।
यस अघि पनि काठमाडौंको पेप्सीखोलास्थित ईटा भट्टामा काम गर्ने बालबालिकामा दादुरा सङ्क्रमण पुष्टि भएको उनको भनाइ छ । खोपबारे जानकारी न्यून भएका केही समुदायले बालबालिकालाई दिनुपर्ने नियमित खोप लगाउन चासो नदिँदा समस्या हुने गरेको डा। शर्माको भनाइ छ ।
सन् २०२३ सम्ममा नेपालले दादुरा रोग निवारणको लक्ष्य राखेको छ । सन् २०२२ मा सार्वजनिक गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले दादुरा, क्षयरोग, बी.सी.जी. पोलियो लगायत बालबालिकालाई दिइने नियमित खोपको कभरेज पछिल्लो पाँच वर्ष यता ४ प्रतिशत बालबालिकाले नलगाएको देखाएको छ ।
केन्द्र सरकारको विज्ञ टोली बाँकेमा
बाँकेमा दादुराको कारण एक बच्चाको मृत्यु हुनका साथै सङ्क्रमितको सङ्ख्या बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एक टोली नेपालगञ्ज पुगेको छ । केन्द्रबाट स्वास्थ्य मन्त्रालयका विज्ञसहित विश्व स्वास्थ्य संगठन, युनिसेफका टोली नेपालगञ्ज गएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए ।
उनी भन्छन्, ‘केन्द्रबाट गएको टोलीले पूर्ण खोप भनेर घोषणा गरिएको जिल्लामा किन दादुराका बिरामी देखिए, कसरी दादुरा नियन्त्रण गर्न सकिन्छ भनेर सुझाव दिनेछ ।’
दाहालका अनुसार दादुराको जस्तो लक्षण देखिएका बिरामीलाई स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश, निर्देशनालयको टोली र केन्द्र सरकारले नियन्त्रणका लागि सहजीकरणको पहल गरेको छ । नियमित खोप लगाएको स्थानमा संक्रमण देखिएपछि सरकारले महामारी लक्षित अभियान सुरु गर्नेबारे छलफल गरिरहेको उनले बताए ।
कसरी गरिन्छ पूर्ण खोप जिल्ला घोषणा
कुनै पनि जिल्लालाई नियमित खोप नलगाउनेको सङ्ख्या शून्य भएपछि पूर्ण खोप जिल्ला भनेर घोषणा गरिन्छ । खोप शाखाका पूर्वप्रमुख डाक्टर गौतमका अनुसार सरकारले चैत र वैशाख महिनालाई खोप महिना भनेर मनाउँछ ।
स्थानीय तहका पालिका, वडामा खटिने स्वास्थ्यकर्मी, स्वयंसेविकाले खोप दिने क्रममा खोधखोज गरी छुटेका बालबालिकालाई खोप दिइ सम्पूर्ण बालबालिकाले खोप लगाएको तथ्याङ्क प्रतिवेदन वडा, पालिका हुँदै जिल्ला खोप कार्यालयमा पुग्छ । खोप सल्लाहकार समितिको बैठकले रिपोर्टिङ र अनुगमनका आधार पूर्ण खोप जिल्ला घोषणा गर्ने खोप शाखाका पूर्व प्रमुख डा. गौतम बताउँछन् ।
‘पूर्ण खोप जिल्ला भनेर घोषणा गरिएका जिल्लामा दादुरा लगायत विभिन्न रोग बेलाबेला किन देखिन्छ भन्ने विषयमा सम्बन्धित निकायले सोधखोज र अध्ययन गर्न आवश्यक छ,’ उनले भने ।
उनका अनुसार कुनै पनि जिल्लामा ९५ प्रतिशत नियमित खोप कभरेज भएको खण्डमा पूर्ण खोप जिल्ला घोषणा गर्न सकिन्छ । एक खोप विज्ञका अनुसार नेपालमा खोप कभरेज ७५ प्रतिशत नपुग्दै हतारमा पूर्ण खोप जिल्ला घोषणा गर्ने लहर चलेको छ । हतारमा पूर्ण खोप जिल्ला घोषणा गर्दा बाँकेको जस्तो अवस्था सिर्जना भएको उनले बताए ।
रातोपाटीबाट
२२ पुष २०७९, शुक्रबार ०९:३० प्रकाशित